प्यालेस्टाइन शरणार्थी निकायका लागि वित्तीय स्रोत जुटाउन संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्लुए) लाई राजनीतिक समर्थनका साथै तत्काल ‘आवश्यक वित्तीय स्रोत’ उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) अन्तर्गत स्वेच्छिक योगदान घोषणा गर्ने तदर्थ समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले उक्त आग्रह गर्नुभएको हो । कठोर मितव्ययिता र लागत नियन्त्रणका उपायहरू अवलम्वन गर्दा समेत हाल यस निकायले १० करोड अमेरिकी डलरको घाटा व्यहोरिरहेको उहाँले जानकारी दिनुभयो । यस वित्तीय अभावका कारण निकायले आफ्नो वर्तमान दायित्व पूरा गर्न नसकेको र तरलता संकटका कारण कार्यदेश कार्यान्वयनमा समेत गम्भीर जोखिम उत्पन्न भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सन् २०२३ अक्टोबरदेखि गाजामा शुरु भएको द्वन्द्वमा ३९० भन्दा बढी कर्मचारीले ज्यान गुमाएको स्मरण गर्दै महासचिवले उनीहरूको बलिदानको सम्मान गर्नुभयो । गाजा क्षेत्रमा रहेका निकायका सबै संरचनाहरू क्षतिग्रस्त वा ध्वस्त भएको जानकारी दिँदै उहाँले ती कार्यहरूको निन्दा गर्नुभयो र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्न आह्वान गर्नुभयो ।

वित्तीय संकटका कारण यस वर्षको सुरुमा यूएनआरडब्लुएले आफ्नो सेवा प्रवाह २० प्रतिशतले कटौती गर्न बाध्य भएको थियो । यसका कारण स्थानीय कर्मचारीहरूको पारिश्रमिक कटौती गरिएको र १५ प्रतिशत अन्तर्राष्ट्रिय पदहरू रिक्त राखिएको छ । महासचिव गुटेरेसले थप बजेट कटौती भएमा प्यालेस्टिनी शरणार्थीहरूको अवस्था नियन्त्रण बाहिर जान सक्ने चेतावनी समेत दिनुभएको छ ।

सन् १९४९ मा संयुक्त राष्ट्रसंघीय महासभाद्वारा स्थापित यूएनआरडब्लुएले प्यालेस्टाइन शरणार्थीहरूको समस्याको स्थायी समाधान नभएसम्म उनीहरूलाई मानवीय सहायता र संरक्षण प्रदान गर्ने कार्यदेश पाएको छ ।