
सरियाको नवनिर्वाचित जनपरिषद् (पिपल्स एसेम्ब्ली) को पहिलो बैठक आगामी जुलाई ६ तारिखमा बस्ने भएको छ । जनपरिषद् निर्वाचनका लागि गठित उच्च समितिका प्रमुख मोहम्मद ताहा अल–अहमदले बुधवार दमास्कसमा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिनुभएको हो ।
सञ्चारकर्मीहरूसँग बोल्दै अल–अहमदले नवनिर्वाचित संसदको पहिलो बैठकमा सदस्यहरूले संवैधानिक शपथ लिने र संसद्को राष्ट्रपतीय कार्यालय (प्रेसिडेन्सियल अफिस) का सदस्यहरूको निर्वाचन गर्ने कार्यक्रम रहेको बताउनु भयो । उच्च समितिले जनपरिषद् सदस्यहरूको अन्तिम नामावली समेत सार्वजनिक गरेको छ ।


यस नामावलीमा संवैधानिक अधिकार प्रयोग गर्दै अन्तरिम नेता अहमद अल–शाराद्वारा मनोनित गरिएका एक तिहाइ सदस्यहरू समेत समावेश छन् ।

नयाँ संसदले विधायिकी र अनुगमनकारी जिम्मेवारी वहन गर्दै राज्यका निकायहरूको पुनः निर्माण र सिरियाली जनताका आकांक्षाहरू सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सिरियाको संवैधानिक घोषणाअनुसार संसद्को कार्यकाल साढे दुई वर्ष अर्थात ३० महिनाको हुनेछ । विशेष परिस्थितिमा यो अवधि थप गर्न सकिने प्रावधान समेत रहेको छ ।




