शाहरुखको नाइट राइडर्सको अमेरिकामा आफ्नै क्रिकेट मैदान

काठमाडौँ । शाहरुख खानको स्वामित्व रहेको नाइट राइडर्स समूहले मेजर लिग क्रिकेटसँगको सहकार्यमा अमेरिकामा नयाँ क्रिकेट मैदान निर्माण गरेको छ । नाइट राइडर्स क्रिकेट ग्राउन्ड क्यालिफोर्नियाको लस एन्जलस काउन्टीस्थित पोमोना सहरको फेयरप्लेक्स क्षेत्रमा निर्माण गरिएको हो ।

यो मैदान मेजर लिग क्रिकेटमा प्रतिस्पर्धा गर्ने लस एन्जलस नाइट राइडर्सको घरेलु मैदान हुनेछ । करिब १०० दिनमै निर्माण सम्पन्न भएको यो मैदानलाई अमेरिकामा क्रिकेटको विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

मैदान सार्वजनिक भएपछि शाहरुख खानले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै आफूले देखेको सपना साकार भएको बताएका छन् । उनले लस एन्जलसको नाइट राइडर्स क्रिकेट ग्राउन्डमा सबैलाई स्वागत गर्दै यो मैदान क्रिकेट मात्र नभई मनोरञ्जन, परिवार र अविस्मरणीय क्षणका लागि पनि निर्माण गरिएको उल्लेख गरेका छन् ।

उनले यस परियोजनामा सहयोग पुर्‍याएकोमा आइसीसीप्रति आभार व्यक्त गर्दै यो मैदान लस एन्जलसका बासिन्दामात्र होइन, विश्वभरका क्रिकेट समर्थक र सम्पूर्ण नाइट राइडर्स परिवारलाई समर्पित रहेको बताएका छन् ।

शाहरुखले सार्वजनिक गरेको भिडियोमा पाकिस्तानमा जन्मिएका तथा अमेरिकाका अन्तर्राष्ट्रिय क्रिकेटर अली खान पनि देखिएका छन् । अली खान हाल अमेरिकाको राष्ट्रिय टोली र लस एन्जलस नाइट राइडर्सबाट खेल्दै आएका छन् । भिडियोमा वेस्ट इन्डिजका पूर्व क्रिकेटर ड्वेन ब्राभो र सुनिल नारन पनि सहभागी छन् ।

यो मैदान २०२८ ग्रीष्मकालीन ओलम्पिकमा क्रिकेटको पुनरागमनसँग पनि जोडिएको छ । आगामी ओलम्पिकका क्रिकेट प्रतियोगिताका सम्भावित मुख्य खेलस्थलमध्ये यसलाई एक मानिएको छ ।

गल्फ न्युजका अनुसार मैदानको मुख्य क्षेत्रमा आठ वटा पिच तयार गरिएको छ । साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को मापदण्डअनुसार सीमारेखा तथा करिब १२० फिट अग्ला छ वटा फ्लडलाइट टावर जडान गरिएको छ ।

लस एन्जलस नाइट राइडर्सले सन् २०२३ मा सुरु भएको मेजर लिग क्रिकेटको पहिलो संस्करणदेखि सहभागिता जनाउँदै आएको छ । टोली पहिलो सिजनमा अंकतालिकाको पुछारमा रहेको थियो । सन् २०२४ मा पाँचौँ स्थानमा उक्लिए पनि सन् २०२५ मा फेरि छैटौँ स्थानमा सीमित भएको थियो ।

 

images