कङ्गोमा इबोलाको प्रकोप भयावह बन्दै, उपचारका लागि क्लिनिकल ट्रायल शुरु

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का महानिर्देशक जीन कसेयाले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा जारी इबोला प्रकोप अझै पनि अत्यन्त गम्भीर अवस्थामा रहेको चेतावनी दिनुभएको छ । कङ्गोमा हालसम्म इबोलाका कारण ४०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने सम्भावित उपचारको मूल्याङ्कनका लागि क्लिनिकल ट्रायल (नैदानिक परीक्षण) समेत शुरु गरिएको छ ।

कङ्गोका राष्ट्रपति फेलिक्स सुसेकेदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कङ्गोको राष्ट्रिय जैविक चिकित्सा अनुसन्धान संस्थानको भ्रमण गर्ने क्रममा महानिर्देशक कसेयाले उक्त कुरा बताउनुभएको हो ।
कसेयाकाअनुसार विगतका इबोला प्रकोप र पश्चिम अफ्रिकी इबोला महामारीको तुलनामा वर्तमान प्रकोपमा सङ्क्रमण र मृत्युदर दुवै निकै तिब्र गतिमा बढिरहेको छ । कङ्गो सरकारले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार जुन ३० सम्ममा इबोलाका १ हजार ४०६ पुष्टि भएका सङ्क्रमित फेला परेका छन् भने ४३८ जनाको मृत्यु भइसकेको छ ।

प्रकोप अझै केही हदसम्म फैलिरहेको भए तापनि कङ्गो सरकारले सङ्क्रमणको चक्र तोड्न र यसलाई अन्त्य गर्न सही कदमहरू चालिरहेको कसेयाले उल्लेख गर्नुभयो । यस्तै, राष्ट्रपति सुसेकेदीले यस महामारी विरुद्ध क्षेत्रीय स्तरको सामूहिक प्रतिक्रियाको आवश्यकतामा जोड दिनुभएको छ ।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बुन्डिबुग्यो भाइरसका कारण लाग्ने इबोला रोगको उपचारका लागि क्लिनिकल ट्रायल शुरु भएको जानकारी दिएको छ । यस परीक्षण अन्तर्गत मोनोक्लोनल एन्टिबडी र एन्टिभाइरल औषधि रेमडेसिभिरको एकल तथा संयुक्त प्रयोगको प्रभावकारिता परीक्षण गरिने डब्लुएचओले जनाएको छ । महानिर्देशक कसेयाले कङ्गोले हाल इबोलाको मात्र नभई अन्य जनस्वास्थ्य सङ्कटको पनि सामना गरिरहेको बताउनु भयो । उहाँकाअनुसार इबोला प्रभावित क्षेत्रहरूमा नै हैजा र दादुराका सङ्क्रमण र मृत्युका घटनाहरू पनि उल्लेख्य रूपमा बढिरहेका छन् ।