
पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानको शेरानी जिल्लामा शुक्रवार एउटा यात्रुवाहक बस गहिरो खोँचमा खस्दा ४० जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बलुचिस्तानका मुख्यमन्त्रीका राजनीतिक तथा सञ्चार मामिला सहायक शाहिद रिन्दकाअनुसार, घाइतेहरूलाई अस्पताल लैजाने क्रममा र उपचारका क्रममा थप व्यक्तिको मृत्यु भएपछि मृतकको संख्या ४० पुगेको हो । जिल्लाका डेपुटी कमिश्नर हजरत वाली काकडकाअनुसार यो दुर्घटना बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तको सीमा नजिक शेरानी जिल्लाको ’धना सार’ क्षेत्रस्थित जोब–शेरानी राजमार्गमा भएको हो ।
दुर्घटना लगत्तै दुवै जिल्लाबाट खटिएका प्रहरी र उद्धार टोलीले मृतकका शव र घाइतेहरूलाई नजिकैका अस्पतालमा पु¥याएका थिए । मृतक तथा घाइते हुनेहरूमा महिला र बालबालिकासमेत रहेका छन् । कठिन पहाडी भूबनौटका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न दुई घण्टाभन्दा बढी समय लागेको उद्धारकर्मीहरूले जानकारी दिएका छन् ।


प्रहरीका अनुसार बलुचिस्तानको राजधानी क्वेटाबाट खैबर पख्तुनख्वाको पेशावरतर्फ जाँदै गरेको बसले पहाडी सडकको मोडमा सन्तुलन गुमाउँदा उक्त दुर्घटना भएको हो । डेपुटी कमिश्नरका अनुसार ३६ जना यात्रु लिएर क्वेटाबाट छुटेको सो बसले बाटोमा थप यात्रुहरू पनि चढाएको थियो ।

बलुचिस्तान प्रान्तीय सरकारले यस दुखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । त्यसैगरी, पाकिस्तानी राष्ट्रपति आसिफ जरदारीले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको छ । उहाँले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूलाई उपलब्ध गराउन सकिने उत्कृष्ट चिकित्सा सेवा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । राष्ट्रपति जरदारीले यस कठिन घडीमा सम्पूर्ण राष्ट्र पीडित परिवारहरूको साथमा रहेको समेत बताउनु भयो ।




