
टर्किएका विदेशमन्त्री हाकान फिदानले अङ्कारामा आयोजना हुने आगामी उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) शिखर सम्मेलनमा रक्षा उद्योगले प्राथमिकता पाउने घोषणा गर्नुभएको छ । सम्मेलनको अवसरमा रक्षा उद्योगको विषयमा केन्द्रित रहेर एक विशेष मञ्च (फोरम) समेत आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।
राजधानी अङ्कारामा भ्रमणमा रहनुभएका किर्गिस्तानका विदेशमन्त्री जीनबेक कुलुबायेभसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै फिदानले आगामी जुलाई ७ र ८ मा हुने शिखर सम्मेलनका मुख्य एजेण्डाहरूका बारेमा प्रस्ट पार्नुभयो । सो अवसरमा विदेशमन्त्री फिदानले भन्नुभयो, ‘हालैका विश्वव्यापी घटनाक्रमहरूले रक्षा उद्योगको उत्पादन क्षमता, दक्षता, विविधता र आत्मनिर्भरताको स्तर सैन्य गठबन्धनका लागि कति महत्त्वपूर्ण छ भन्नेकुरा प्रमाणित गरेका छन् ।’

रक्षा उत्पादन र पूर्वतयारीका विषयहरू अहिले नेटोको उच्च प्राथमिकतामा परेको उहाँले उल्लेख गर्नुभयो ।


फिदानकाअनुसार शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले अघिल्ला दुई सम्मेलनका निर्णयहरूको समीक्षा गर्ने अपेक्षा गरिएको छ । यसका साथै जिम्मेवारी बाँडफाँट, ‘नेटो ३.०’ का रूपमा विकसित भइरहेको रणनीतिक दृष्टिकोण र वर्तमान द्वन्द्व तथा बढ्दो विश्वव्यापी अस्थिरताका बीच युरोपेली प्रतिरोधक क्षमता सुदृढ गर्ने विषयमा समेत विस्तृत छलफल हुनेछ ।




