
काठमाडौँ । जारी फिफा विश्वकपको आयोजक मध्येको एक क्यानडा र मोरक्कोबीच विश्वकपको अन्तिम १६ मा आजराती प्रतिष्पर्धा हुदैछ । अमेरिकाको ह्युस्टनमा हुने यो खेल नेपाली समय अनुसार १०: ४५ बजेदेखि शुरु हुँदैछ ।
प्रतियोगिताको अन्तिम १६ को पहिलो यस खेलमा दुवै टोली अन्तिम आठमा स्थान बनाउन मैदान उत्रनेछन् ।

दुवै टोलीले अन्तिम ३२ को खेलमा रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । क्यानडाले अतिरिक्त समयतर्फ धकेलिने अवस्थामा रहेको खेलको इन्जुरी समयमा गोल गर्दै दक्षिण अफ्रिकालाई १-० ले हराएको थियो । यता मोरक्कोले नेदरल्यान्ड्सविरुद्ध अन्तिम समयमा बराबरी गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ उसले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको थियो । क्यानडाका लागि यो विश्वकप नकआउट चरणको पहिलो जित थियो । तर मोरक्को भने पछिल्ला वर्षहरूमा ठूला प्रतियोगितामा नकआउट चरण पार गर्ने टोलीका रूपमा स्थापित हुँदै गएको छ । विश्वकप र अफ्रिका कप अफ नेसन्सका पछिल्ला आठ नकआउट खेलमध्ये उसले छ खेल जितेको छ भने तीमध्ये तीन खेल पेनाल्टी सुटआउटमार्फत आफ्नो पक्षमा पारेको छ ।


नेदरल्यान्ड्सविरुद्ध मोरक्कोको प्रदर्शन विशेष प्रभावशाली रह्यो । पूरै एक सय बीस मिनेटमा नेदरल्यान्ड्सले निकै कम अवसर सिर्जना गर्न सफल भयो भने बल नियन्त्रण र पासमा पनि मोरक्को हाबी देखियो । यसले मोरक्को अहिले विश्व फुटबलका सबैभन्दा व्यवस्थित र सन्तुलित टोलीमध्ये एक बनेको संकेत दिएको छ । सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेको मोरक्को यसपटक अझ बलियो देखिएको विश्लेषण गरिएको छ ।
यता क्यानडा भने यस खेलमा तुलनात्मक रूपमा दबाबमा रहने टोलीका रूपमा हेरिएको छ । समूह चरणमा उसले औसत ६१ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो। तर दक्षिण अफ्रिकाविरुद्ध भने रणनीति परिवर्तन गर्दै कम बल नियन्त्रणमा रहेर प्रभावकारी प्रतिआक्रमणमार्फत जित निकाल्यो । मोरक्कोविरुद्ध पनि क्यानडाले यस्तै रणनीति अपनाउने अपेक्षा गरिएको छ ।

यदि खेल पेनाल्टी सुटआउटसम्म पुग्यो भने मोरक्कोलाई फाइदा पुग्ने सम्भावना देखिन्छ । विश्वकपका पेनाल्टी सुटआउटहरूमा मोरक्कोविरुद्ध प्रहार गरिएका आठमध्ये केवल दुई पेनाल्टी मात्र सफल भएका छन् । गोलरक्षक यासिन बोनुले नेदरल्यान्ड्सविरुद्ध देखाएको उत्कृष्ट बचाउले पनि मोरक्कोको आत्मविश्वास थप बढाएको छ ।
दुवै टोलीबीच अहिलेसम्म चार पटक भेट भएको छ । ती खेलमध्ये क्यानडाले कुनै पनि खेल जित्न सकेको छैन । एक खेल बराबरीमा सकिँदा तीन खेल मोरक्कोले जितेको थियो । विश्वकपमा पनि मोरक्कोले उत्तर तथा मध्य अमेरिकी क्षेत्रका टोलीविरुद्ध खेलेका दुवै खेल जितेको छ । यस विश्वकपको समूह चरणमा उसले हैटीलाई ४-२ ले हराएको थियो भने सन् २०२२ को विश्वकपमा क्यानडालाई पनि पराजित गरेको थियो ।

वर्तमान लय, अनुभव र रक्षात्मक मजबुतीका आधारमा मोरक्कोलाई यस खेलको बलियो दाबेदार मानिएको छ । तर क्यानडाले मोरक्कोलाई सहज चुनौती भने दिने छैन ।




