
काठमाडौं, २० असार । सन् २०२६ को फिफा विश्वकपअन्तर्गत ‘राउन्ड अफ १६’ का खेल अन्तर्गत दोस्रो खेल फ्रान्स र पराग्वे बिच हुदैँछ ।
पाराग्वे र फ्रान्स बीचमा हालसम्म कुल ५ वटा अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्, जसमा फ्रान्सको पल्ला भारी देखिएको छ। फ्रान्सले तीन खेल जितेको छ भने दुई खेल बराबरीमा टुंगाएको छ । राउन्ड अफ १६ को आज राती हुने दोस्रो खेलमा पाराग्वे भने फ्रान्सविरुद्ध आफ्नो पहिलो जितको प्रतीक्षामा रहेको छ।


फिफा विश्वकपको इतिहासमा यी दुई टोली तेस्रो पटक आमनेसामने हुँदैछन्। यसअघि, सन् १९५८ को विश्वकपको समूह चरणमा फ्रान्सले पाराग्वेलाई ७–३ को फराकिलो अन्तरले पराजित गरेको थियो। त्यसपछि सन् १९९८ को विश्वकपमा ‘राउन्ड अफ १६’ को खेलमा फ्रान्सले १-० को जित हासिल गरेको थियो।

फ्रान्सले यस प्रतियोगितामा हालसम्म एउटा पनि खेल हारेको छैन। ‘राउन्ड अफ ३२’ मा फ्रान्सले एकपक्षीय खेलमा स्वीडेनलाई ३–० ले पराजित गरेको थियो भने त्यसअघि टोलीले समूह चरणका तीनै खेलमा नर्वेलाई ४-१, इराकलाई ३-० र सेनेगललाई ३-१ ले हराउँदै प्रभावशाली जित हासिल गरेको थियो।
पाराग्वेले ‘राउन्ड अफ ३२’ मा ४ पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्यो। निर्धारित समयको खेल १-१ को बराबरीमा सकिए पछि पाराग्वेले पेनाल्टी सुटआउटमा ४-३ को जित हासिल गर्यो। यसअघि समूह चरणमा सो टोलीले टर्कीलाई १-० ले हराएको थियो, अस्ट्रेलियासँग गोलरहित बराबरी खेलेको थियो र अमेरिकासँग भने ४-१ ले पराजित भएको थियो।

पाराग्वेले स्टार खेलाडी जुलियो एन्सिसो र जर्मनीविरुद्ध पेनाल्टी बचाएका गोलकिपर ओर्लान्डो गिलबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ भने अर्कोतर्फ एमबाप्पेको आक्रामक खेलको बलमा फ्रान्सले खेलमा आफ्नो पकड जमाउन सक्छ।
दुबै टोलीका लागि सम्भावित प्रारम्भिक ११ः

पाराग्वेः ओर्लान्डो गिल, कासेरेस, अलोन्सो, क्यानाले, गुस्ताभो गोमेज, मिगुएल अल्मिरोन, क्युबास, बोबाडिला, गालार्जा, जुलियो एन्सिसो, एभालोस।
फ्रान्सः माइक मैगनन, जुल्स कौंडे, उपमेकानो, विलियम सलिबा, थियो हर्नान्डेज, चौआमेनी, एड्रियन राबियोट, माइकल ओलिसे, उस्माने डेम्बेले, बारकोला, केलियन एमबाप्पे।




