
काठमाडौँ । भारत सरकारले बालबालिकाको यौन शोषण तथा दुर्व्यवहारसँग सम्बन्धित सामग्रीलाई प्रवर्द्धन गर्ने सशुल्क विज्ञापन इन्स्टाग्राममा देखिएको विषयलाई लिएर मेटासँग जवाफ मागेको छ ।
भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले बालबालिकाको यौन शोषण तथा दुर्व्यवहारसँग सम्बन्धित सामग्रीलाई प्रवर्द्धन गर्ने वा त्यस्ता सामग्रीमा सहज पहुँच गराउने सबै विज्ञापन तथा सामग्री तत्काल हटाउन इन्स्टाग्रामलाई निर्देशन दिएको छ । साथै मन्त्रालयले यस विषयमा सात दिनभित्र विस्तृत जवाफ पेस गर्न मेटालाई भनेको छ ।


सरकारले मेटासँग सामग्री निगरानी प्रणाली, विज्ञापन परीक्षण प्रक्रिया तथा अवैध र हानिकारक सामग्री नियन्त्रणका लागि कम्पनीले अपनाएका उपायबारे विस्तृत प्रतिवेदन पनि माग्न सक्ने बताइएको छ । यस विषयमा मेटाले कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

यसअघि पनि मन्त्रालयले इन्स्टाग्राममा यस्ता विज्ञापन कसरी प्रसारण भए, तिनलाई रोक्न कम्पनीले के–कस्ता कदम चाल्यो र बालबालिकाको यौन शोषणसँग सम्बन्धित सामग्रीलाई प्रवर्द्धन गर्ने विज्ञापन रोक्न भविष्यमा कस्ता उपाय अपनाइँदै छन् भन्नेबारे स्पष्टीकरण मागेको थियो ।





