काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्र हो ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्र नभएको टिप्पणी गर्नुभएको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । कोही पनि नागरिकको बसोवास कानूनी हुनसक्ने तर कुनै नागरिकको जन्म गैरकानूनी हुन नसक्ने बताउनु भयो । सुकुम्वासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गर्न माग गर्नुभयो ।

समाधानको नाममा हजारौँ सुकुम्वासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु सरकारको संवेदना शुन्य भएको लक्षण भएको बताउनु भयो । व्यवस्थापनको नाममा सुकुम्वासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने तर पछि रातारात धपाउने कुरा राम्रो नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि नागरिकको बसोवास गैरकानूनी थियो होला सभामुख महोदय । तर उसको जन्म त गैरकानूनी थिएन होला नि । जन्म दिने आमाको गर्भ त गैरकानूनी थिएन होला नि । उ नेपाली भूमिमा जन्मनु पनि गैरकानूनी थिएन होला नि सभामुख महोदय । त्यसैले सुकुम्वासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गरिनुपर्दछ । तर समाधानको नाममा हजारौँ सुकुम्वासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा जसरी वैकल्पिक व्यवस्था बिना विस्थापित गरियो त्यो सरकारको मानवीय संवेदना शुन्य भएको लक्षण थियो,छन्,थिए ।

एउटा परिवारलाई हटाउनु अघि कम्तिमा त्यो परिवार भोलि देखि कहाँ बस्छ ? वृद्ध अशक्त गर्भवती र साना बालबालिकाको अवस्था बारे राज्यले सोच्नु पर्दैन ? राज्य यति सारो संवेदनहीन बन्न मिल्छ ? हिजो व्यवस्थापनको नाममा सुकुम्वासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने अनि आज त्यहाँबाट रातारात धपाउने ।

सभामुख महोदय, आज त्यही क्रियाकलाप हामीहरूले देखिराखेका छौँ । के यो देश ठूला बडाको मात्रै हो ? कालो चस्मा लाउने कालै कोट र कालै पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभामुख महोदय ? सुकुम्वासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदुरहरूको यो देश होइन ? होइन भने भन्नुप¥यो । यदि हो भने किन अत्याचार गरिन्छ ? शक्तिहीन नागरिक माथि । के यो लोक कल्याणकारी राज्यको चरित्र अनुकूल छ ? म सोध्न चाहन्छु सरकारलाई सभामुख मार्फत । त्यसैले मेरो विनय विनम्र आग्रह छ सुकुम्वासी समस्या समाधान गरौँ तर मानवीय ढङ्गले गरौँ । मानव मर्यादालाई ख्याल गरौँ सत्ताको उन्मादमा होइन ।’

नेता आङदेम्बेले यो देश ुकुम्वासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदुरहरूको यो देश होइन ? भन्दै प्रश्न गर्नुभयो ।