
प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र साहलाई सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्न सुझाव दिनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले सय दिन पूरा गरेको सन्दर्भसहित आफ्नो धारणा राख्ने क्रममा उहाँले यसदिशातर्फ प्रधानमन्त्री साहको ध्यानाकर्षण गराउनुभएको हो । नेता आङदेम्बेले सामाजिक सञ्जालमार्फत लोकप्रिय हुने नाममा भ्रमपूर्ण जिन्दगी कटाउन उचित नहुनेतर्फ पनि प्रधानमन्त्री साहलाई सचेत गराउनु भयो ।
उहाँले प्रधानमन्त्रीको रुपमा मुलुकलाई सही ढंगले हाँक्न पनि आग्रह गर्नुभयो । त्यस अवसरमा नेता आङदेम्बेले प्रधानमन्त्री साह संसदप्रति उत्तरदायी नभएको गुनासो पनि गर्नुभयो । उहाँले धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन लोकोक्तिलाई स्मरण गराउँदै प्रधानमन्त्री साहलाई संसद नभुल्न पनि अनुरोध गर्नुभयो ।


नेता आङदेम्बेले भन्नुुभयो,‘आज म प्रतिपक्ष दलको तर्फबाट केही प्रश्नहरु गर्न चाहन्छु । र यी प्रश्न सरकारलाई अझ जिम्मेवार बनाउनका लागि हो । बिर्सन हुँदैन कि लोकतन्त्रमा प्रश्न गर्नु विरोध होइन । उत्तरदायित्व हो । सबैभन्दा पहिला हामी प्रधानमन्त्रीको संसदीय दायित्वबाट कुरा गर्न चाहन्छु । नेपालको संविधानले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएको छ । संसद सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था हो । त्यही संस्थाको सदस्य प्रधानमन्त्रीजी हुनुहुन्छ । उहाँको सरकार त्यही संसदको विश्वासमा टिकेको हुन्छ ।

त्यसैले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्दछ । तर विगतयमा सय दिनमा प्रधानमन्त्रीको कार्यशेली हेरेपछि म प्रधानमन्त्रीजीलाई स्मरण गराउछु–धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन । तपाई सत्ताको धुरी चढने अन तपाईर्ला धुरीमा पु¥याउने संसद बिर्सने, संसदलाई अवमूल्यन गर्ने ? म प्रधानमन्त्रीजीलाई गम्भिरपूर्वक नै सोध्न चाहन्छु–यदि संसदनै तपाईको प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ ? यदि प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ ? लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन । सँगै म स्मरण गराउन चाहन्छु–प्रख्यात हुनु र लोकप्रिय हुनु पनि एउटै होइन ।
अझै बुझने गरी भन्नुपर्दा फेमस हुँदै गर्दा लोकप्रिय भएँ भनेर भ्रमपूर्ण जिन्दगी पनि हामी कहिलेकाँही कटाई राखेका हुन्छौ । र प्रधानमन्त्रीजीलाईं म भन्न चाहन्छु–सामाजिक सञ्जालमा भाईरल हुन सजिलो छ । तर देशको प्रधानमन्त्रीको रुपमा गहन र गम्भिर भएर कार्य गर्न बडो गाह्रो छ । त्यसैले प्रधानमन्त्रीज्यू, तपाईले भाइरल हुने बाटो त्याग्नु पर्दछ । भुली दिनुस तपाई देशको प्रधानमन्त्री भइसक्नु भयो । प्रधानमन्त्रीको रुपमा मुलुकलाई सही ढंगले ड्राईभ गर्नु होस् ।’

नेता आङदेम्बले संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई प्रभावकारी प्रधानमन्त्री साहले ठानेको उल्लेख गर्दै यस्तो गतिविधिले संसदको गरिमा कायम नरहने जिकिर पनि गर्नुभयो ।




