कर्णालीमा दुर्घटना देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु- ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनामा उद्धार प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठक आकस्मिक समयमा बोल्दै सांसद शाहीले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवारी र असफलता देखेको बताए ।

उनले भने- ‘मैंले आज कर्णालीमा दुर्घटना देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु । कर्णालीमा गाडी नदीमा खस्यो, मानिसहरू नदीको बीचमा फसेर जीवन बचाइदिन गुहार मागिरहेका थिए। एकजना व्यक्ति भीरमा अड्किएर बाँच्नका लागि संघर्ष गरिरहनुभएको थियो। तर उहाँहरूको जीवन सकियो, उद्धार आएन ।’

उनले असार १८ गते कर्णाली नदीमा बस खस्दा यात्रुहरू नदीको बीचमा फसेर जीवन बचाइदिन हारगुहार गरिरहेको अवस्थामा पनि समयमै उद्धार हुन नसकेको बताउदै सभामुखले यस विषयमा सरकारलाई रुलिङ गर्न माग गरेका थिए ।