
काठमाडौँ । श्रीलङ्काको राजधानी कोलम्बो नजिकै रहेको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । मृतकमध्ये चार जना कारागार कर्मचारी र १५ जना कैदी रहेका छन् ।
घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिदै नेगोम्बो अस्पतालकी निर्देशक पुष्पा गमलाथले अस्पतालमा चार कारागार कर्मचारी र १५ कैदीको शव ल्याइएको बताएका छन् ।


प्रहरी र स्थानीय सञ्चारमाध्यमका अनुसार कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको नेगोम्बो कारागारमा आइतबार सुरु भएको हिंसा सोमबारसम्म जारी रहेको थियो ।

घटनामा कारागार कर्मचारी र कैदी दुवै पक्षका व्यक्ति मृतक तथा घाइते भएको जनाइएको छ । श्रीलङ्का प्रहरीका प्रवक्ता चन्दना हेराथले कारागारभित्र झडप भएको र मानवीय क्षति भएको पुष्टि गरेका छन् । तर, घटनाको कारण र अन्य विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।





