
स्पेनमा यस वर्षको दोस्रो चरणको तातो लहर (लू) शुरु भएसँगै जुलाई महिनाको पहिलो केही दिनमै गर्मीका कारण १ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालय अन्तर्गतको दैनिक मृत्युदर निगरानी प्रणालीले सोमवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अत्यधिक बढ्दो तापक्रमका कारण यी हताहती भएका हुन् ।
यसअघि जुन महिनामा मात्रै गर्मीका कारण १ हजार २९ जनाको मृत्यु भएको थियो । सन् २०१५ मा मृत्युदर निगरानी प्रणाली शुरु भएयताकै यो सबैभन्दा उच्च मासिक मृत्युदर हो ।


गर्मीसँगै स्पेनका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकहरूलाई हम्मे–हम्मे परेको छ । विशेष गरी ला बिसबल डि’एम्पोर्डा क्षेत्रमा लागेको डढेलोले संरक्षित ‘लेस गाभारेस’ क्षेत्रको करिब २ हजार २०० हेक्टर जमिन नष्ट गरिसकेको छ । अधिकारीहरूकाअनुसार उक्त डढेलो करिब ४० किलोमिटरको घेरामा फैलिएको छ ।

युरोपेली वन डढेलो सूचना प्रणालीको उपग्रहमा आधारित अनुमानअनुसार स्पेनमा यस वर्ष हालसम्म डढेलोका कारण करिव ५६ हजार हेक्टर वन क्षेत्र सखाप भइसकेको छ। तातो हावा र खडेरीका कारण डढेलोको जोखिम अझै बढ्ने चेतावनी दिइएको छ ।




