कङ्गोको विस्थापित शिविरमा इबोला महामारीको जोखिमः स्वास्थ्य संकटका बीच मानवीय अवस्था थप जटिल

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला महामारीले विस्थापित शिविरहरूमा आश्रय लिइरहेका हजारौँ मानिसहरूको जीवनलाई थप जोखिममा पारेको छ । स्वास्थ्य सेवाको सीमित पहुँच र अत्यधिक भीडभाडका कारण विस्थापित शिविरहरूमा संक्रमण तिब्र रूपमा फैलिन सक्ने भन्दै अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

इटुरी प्रान्तको बुनिया शहर नजिकै अवस्थित किगोन्जे विस्थापित शिविरमा हाल १८ हजार देखि २० हजारको हाराहारीमा विस्थापित मानिसहरू बसोवास गरिरहेका छन् । शिविरका अध्यक्ष सिजुडोस एथिनकाअनुसार यहाँ ५ हजार ५५ भन्दा बढी घरधुरी रहेका छन् । विगत लामो समयदेखि यस क्षेत्रमा औषधि, स्वच्छ खानेपानी र आधारभूत मानवीय सहायताको चरम अभाव रहँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मुलुकमा इबोला संक्रमितको संख्या १ हजार ५ सय ६१ पुगेको छ, जसमध्ये ५०६ जनाको मृत्यु भइसकेको छ । किगोन्जे शिविरमा मात्रै गत मे महिना यता ४५ जनाको मृत्यु भएको छ, जसमा २० जनामा इबोला संक्रमण पुष्टि भएको शिविर प्रशासनले जनाएको छ ।

डीआरसीले गत मे १५ मा आधिकारिक रूपमा इबोला प्रकोपको घोषणा गरेको थियो । यस महामारीको केन्द्रबिन्दु मानिएको इटुरी प्रान्त पहिलेदेखि नै सशस्त्र द्वन्द्व र ठूलो संख्यामा विस्थापनको समस्याबाट गुज्रिरहेको छ । सामाजिक मामिला मन्त्री इभ बाजाबाले इटुरीका ६९ वटा विस्थापित केन्द्रहरूमा करिव ११ लाख ५० हजार मानिसहरू बसोबास गरिरहेको जानकारी दिँदै, संक्रमण फैलिएमा दैनिक १ हजारसम्म नयाँ केसहरू देखिनसक्ने चेतावनी दिनुभएको छ ।
शिविरमा व्याप्त भीडभाड र सरसफाइको कमीले संक्रमण रोकथाममा ठुलो चुनौती थपेको छ ।

विस्थापितहरूकाअनुसार शुरुवाती चरणमा रोगबारे भ्रम रहे पनि मृत्युदर बढ्न थालेपछि त्रास फैलिएको छ । महामारी नियन्त्रणका लागि जुलाई २ देखि शिविरमा एक आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ । यस केन्द्रले निःशुल्क प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नुका साथै शंकास्पद बिरामीहरूको पहिचान र आइसोलेसनको कार्य गरिरहेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार संक्रमण फैलिन नदिन प्रारम्भिक पहिचान र बिरामीलाई अलग राख्नु अनिवार्य छ ।

हाल कङ्गोमा देखिएको प्रकोप इबोलाको बुन्डिबुग्यो प्रजाति हो, जसका लागि हालसम्म कुनै स्वीकृत खोप वा निश्चित उपचार पद्धति उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनले यस प्रजातिको उपचारका लागि सम्भावित औषधिहरूको क्लिनिकल परीक्षण इटुरी प्रान्तको र्वाम्पारा स्वास्थ्य क्षेत्रबाट शुरु गरेको छ । स्वास्थ्य अधिकारीहरूले यस परीक्षणले आगामी दिनमा महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।