
इरानका दिवङ्गत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन राजधानी तेहरानका सडकहरूमा विशाल जनसागर ओर्लिएको छ । गत फेब्रुअरीको अन्त्यमा अमेरिकी र इजरायली आक्रमणमा मारिएका खामेनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न देशैभरबाट ठूलो संख्यामा नागरिकहरू भेला भएका हुन् ।
मध्य तेहरानस्थित इमाम खोमेनी मोसल्ला प्रार्थना गृहमा दुई दिनसम्म चलेको बिदाइ समारोहपछि अन्त्येष्टि जुलुस निकालिएको थियो । उक्त समारोहमा इरानी राष्ट्रपति मसूद पेजेस्कियान, न्यायपालिका प्रमुख गुलामहोसेन मोहसेनी–एजेई, विशेषज्ञ परिषदका अध्यक्ष अहमद जन्नाती, र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बकिर जोल्कादर लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।


यसैबीच, अमेरिकी–इजरायली आक्रमणमा मारिएको भनिएका पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद पनि समारोहमा उपस्थित देखिएका छन् ।

जुलुस पूर्वी तेहरानको दमावन्द सडकदेखि पश्चिमको आजादी चोक र लश्गरी राजमार्गसम्म करिव १० किलोमिटर लामो रुटमा चलेको थियो । शोकमा डुबेका सहभागीहरूले दिवङ्गत नेताको तस्बिर, इरानी झण्डा र प्रतिशोधको प्रतीक मानिने रातो ब्यानरहरू बोकेका थिए । उनीहरूले अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्दै आफ्ना नेताको हत्याको बदला लिने र उनले देखाएको मार्गमा अविचलित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसअघि शुक्रवार तेहरानमा आयोजित एक समारोहमा इरानी तथा विदेशी उच्च अधिकारीहरूले दिवङ्गत नेताप्रति सम्मान व्यक्त गरेका थिए ।
लामो समय अर्थात् करिब ३७ वर्ष इरानको सर्वोच्च नेताका रूपमा कार्यभार सम्हालेका खामेनीलाई आगामी बिहीवार उत्तर–पूर्वी सहर मशहदमा समाधिस्थ गरिनेछ । खामेनीको मृत्युपश्चात् गत मार्चमा उनका छोरा मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ ।





