
नेपाली काँग्रेसको संस्थापन इतर पक्षका नेताहरुले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।
बुधवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा सम्पन्न बैठकमा नेताहरुले यस्तो धारणा राखेको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँकाअनुसार नेताहरुले गगन थापा संयोजक रहँदा अद्यावधिक भएको पार्टी सदस्यताको विवरणलाई मान्यता दिएको खण्डमा एकता गर्ने नभए विकल्प खोज्नुपर्ने समेत नेताहरुको तर्क छ । नेता विश्वकर्माले बुधवारको बैठकमा १९ जना नेताहरुले धारणा राखेको जानकारी दिँदै अधिकांश नेताहरुले पार्टी एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएको बताउनु भयो ।


उहाँले बैठकमा पार्टीको आन्तरिक विषयमा मात्र केन्द्रित नभई मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल भएको बताउनु भयो । उहाँले लोकतान्त्रिक प्रणालीमाथि संकट बढ्दै गएको, संविधानका अंगहरूमाथि हस्तक्षेप भइरहेको तथा सरकारले संसदलाई छल्दै बाहिरबाट कानून निर्माण र शासन सञ्चालन गर्न खोजेको भन्दै यसतर्फ समेत छलफल केन्द्रित गर्नुपर्ने नेताहरुको धारणा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज १९ जना साथिहरुले आफ्ना कुराहरु राख्नुभयो । सबै साथीहरुको निष्कर्ष के छ भने पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्छ । यसका लागि अद्यावधिक नामबाट जसरी केही व्यारियर्सहरु खडा भएका छन् । त्यसका बारेमा सहमति गरेर गगन थापा नै संयोजक हुँदा जसरी सदस्यता नविकरणको प्रक्रिया टुंगिसकेको थियो त्यसलाई मान्यतामा राखेर अघि बढ्नुपर्दछ । र यदि त्यसो गर्नको लागि तयार नभएको अवस्थामा विकल्पा जानुपर्छ भन्ने ढंगले धारणाहरु आए । आजको बैठकमा विशेष गरी हामी पार्टीको आन्तरिक विषयमा मात्रै अल्झिने होइन मुलुकको लोकतान्त्रिक प्रणाली नै संकटमा परिरहेको छ, संविधानका अंगहरुमा प्रहार भइरहेको छ, सरकारले संसदलाई छलेर बाहिरबाट कानून निर्माण गर्ने र शासन गर्ने चाहाना राखिराखेको छ । यी सबै कुराहरुलाई छलफलको विषय बनाउनुपर्छ भन्ने कुरामा छलफल भयो । आज यिनै विषयमा छलफल भयो हाम्रो तीन दिनको बैठकको समग्र निष्कर्ष भोलि हामी निश्चित समय तोकेर सुनाउनेछौँ । राष्ट्रिय भेला विपी स्मृति दिवसको अवसर पारेर साउन ६ गतेको लागि तोकिएको छ । मौसमलाई ख्याल गरेर भेला गर्ने कुरामा सैद्धान्तिक सहमति भएको छ ।’
उहाँले इतर पक्षको राष्ट्रिय भेला वीपी स्मृति दिवसको अवसर पारेर साउन ६ गते गर्ने सैद्धान्तिक सहमति भएको बताउनु भयो । उहाँले मौसमको अवस्था हेरेर भेलाको समय तलमाथि भएपनि साउनभित्र गरिसक्ने बताउनु भयो ।





