
पाकिस्तानको जलसेनाले अरब सागरमा बेपत्ता भएको केटु एयरवेजको बोइङ ७३७ कार्गो विमानको भग्नावशेष फेला पारेको छ । पाकिस्तान एयरपोर्ट अथोरिटी (पीएए) काअनुसार बुधबार १२ घण्टा लामो खोज तथा उद्धार कार्यपछि विमानको अवशेष भेटिएको हो ।
विमानको भग्नावशेष दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको ग्वादर जिल्लामा अवस्थित ओर्मारा शहरभन्दा करिव ५३ नटिकल माइल दक्षिणमा फेला परेको पीएएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खोज कार्यका लागि पाकिस्तान जलसेना र पाकिस्तान म्यारिटाइम सेक्युरिटी एजेन्सीका हवाई तथा समुद्री साधनहरू परिचालन गरिएको थियो ।


विमानमा सवार चालक दलका पाँच सदस्यहरू अझै बेपत्ता रहेका छन् र उनीहरूको खोजी कार्य जारी छ । पीएएकाअनुसार उद्धार कार्य अघि बढ्दै जाँदा यसबारे थप विवरणहरू सार्वजनिक गरिनेछ । संयुक्त अरब इमिरेट्सको शारजाहबाट पाकिस्तानको कराँचीतर्फ उडिरहेको उक्त कार्गो विमानले मंगलवार राति नेभिगेसन प्रणालीमा प्राविधिक समस्या आएको जानकारी गराएलगत्तै सम्पर्क विच्छेद भएको थियो ।

कराँची एरिया कन्ट्रोल सेन्टरको निर्देशनमा रहेको उक्त विमान अचानक उचाइ घटाउँदै र तीव्र रूपमा दिशा परिवर्तन गर्दै राडार तथा रेडियो सम्पर्कबाट बाहिरिएको थियो । बेपत्ता हुनुअघि विमान कराँचीबाट करिब १५५ नटिकल माइल पश्चिममा रहेको पीएएले जनाएको छ ।




