
काठमाडौँ । दक्षिणी चीनमा उष्णकटिबन्धीय आँधी ‘मेसाक’ का कारण आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । चिनियाँ अधिकारीहरूका अनुसार बिहीबारसम्म यस प्राकृतिक विपद्मा कम्तीमा ३९ जनाको मृत्यु भएको छ ।
अधिकांश मृत्यु गुआङ्सी क्षेत्रको नाननिङ सहरमा बाँध फुटेपछि भएको हो । सहरका उपप्रमुख डिङ वेईले जानकारी दिँदै उक्त घटनामा मात्रै २६ जनाले ज्यान गुमाएको बताए । अन्य स्थानमा आएको बाढी र त्यससँग सम्बन्धित घटनामा थप मानिसको मृत्यु भएको जनाइएको छ ।

सन् २०२६ को मेसाक आँधी दक्षिण चीन सागरमा विकसित भएर हाइनान द्वीप हुँदै दक्षिणी चीन प्रवेश गरेको थियो । आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका कारण गुआङ्सी तथा आसपासका क्षेत्रमा व्यापक बाढी आएको हो । लगातारको वर्षाले नदीहरूमा पानीको सतह उच्च बनेपछि केही स्थानमा बाँध फुटेका छन्, जसले बस्ती डुबानमा परेका छन् र ठूलो जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन् ।


मेसाक पश्चिमी प्रशान्त महासागर र दक्षिण चीन सागर क्षेत्रमा विकसित हुने उष्णकटिबन्धीय आँधी हो । कुनै उष्णकटिबन्धीय प्रणालीमा लगातार बहने हावाको गति प्रतिघण्टा ६३ देखि ११८ किलोमिटर पुगेमा त्यसलाई उष्णकटिबन्धीय आँधी मानिन्छ । हावाको गति प्रतिघण्टा ११९ किलोमिटर वा त्यसभन्दा बढी पुगेमा त्यसलाई टाइफुनको श्रेणीमा राखिन्छ, जुन अझ शक्तिशाली हुन्छ ।
‘मेसाक’ नाम माइक्रोनेसियाले विश्व मौसम विज्ञान सङ्गठन र सम्बन्धित क्षेत्रीय समितिलाई उपलब्ध गराएको नामसूचीबाट लिइएको हो । पश्चिमी प्रशान्त क्षेत्रमा विकसित हुने उष्णकटिबन्धीय आँधीहरूलाई पूर्वनिर्धारित सूचीअनुसार क्रमशः नामकरण गर्ने प्रचलन रहेको छ ।

बाढी र बाँध फुटेपछि स्थानीय प्रशासन, उद्धार टोली तथा विपद् व्यवस्थापन निकायहरूले प्रभावित क्षेत्रमा व्यापक खोज, उद्धार र राहत अभियान सञ्चालन गरेका छन्। अधिकारीहरूका अनुसार धेरै क्षेत्र अझै पानीमुनि रहेकाले राहत र उद्धार कार्यमा कठिनाइ भइरहेको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक खाद्यान्न, औषधि र अन्य राहत सामग्री उपलब्ध गराउने काम जारी रहेको जनाइएको छ ।





