धान प्रशोधन उद्योग अनुदानमा हिनामिना, आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सिरहाको विष्णुपुर गाउँपालिका-१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत स्थापना गर्न लागिएको विष्णुपुर धान प्रशोधन उद्योगको अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले नेपाल सरकारबाट उपलब्ध गराइएको ४९ लाख २० हजार दुरुपयोग भएको निष्कर्ष निकाल्दै सम्बन्धित पदाधिकारी तथा उपभोक्ता समितिका पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ५० प्रतिशत लागत साझेदारी कार्यक्रमअन्तर्गत धान प्रशोधन उद्योग स्थापनाका लागि संघीय सरकारले ५० लाख सशर्त अनुदान उपलब्ध गराएको थियो । तर सार्वजनिक खरिद नियमावली विपरीत एक करोड ११ लाख २ हजारको लागत अनुमान स्वीकृत गरी सम्झौता गरिएको, सहकारीले व्यहोर्नुपर्ने ५० प्रतिशत लागत साझेदारी सुनिश्चित नगरी सरकारी अनुदानको रकम उपभोक्ता समितिलाई भुक्तानी गरिएको तथा योजना अपूर्ण, जीर्ण र प्रयोगविहीन अवस्थामा रहेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

यस प्रकरणमा विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत, तत्कालीन इन्जिनियर तथा योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, साना किसान कृषि सहकारी संस्थाका तत्कालीन अध्यक्ष सरोज कुमार यादव, सञ्चालक समिति सदस्य राजेश्वर प्रसाद सिंह तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज कुमार यादव, कोषाध्यक्ष कविता कुमारी र सचिव राम वावु यादवलाई प्रतिवादी बनाइएको छ ।

आयोगले मुख्य प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा अन्य प्रतिवादीहरूमाथि सोही ऐनको दफा २२ अनुसार कसुर कायम गरी जनही ४९ लाख २० हजार ९०३ रुपैयाँ बिगो, सो बराबर जरिवाना, कैद सजाय तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।