
हेल्सिन्की, २५ असार । फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र विदेशमन्त्री एलिना भल्टोनेनले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्डमाथि अमेरिकाको नियन्त्रण हुनुपर्ने पुनः दाबीलाई अस्वीकार गरेका छन ।
यस विषयमा निर्णय गर्ने अधिकार डेनमार्क र ग्रिनल्याण्डको मात्र भएको बताएका छन्।


अंकारामा आयोजित उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) शिखर सम्मेलनका क्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँगको द्विपक्षीय भेटवार्ता अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ग्रिनल्याण्ड डेनमार्कको नभई अमेरिकाको नियन्त्रणमा हुनुपर्ने बताएका थिए।

फिनल्याण्डको राष्ट्रिय प्रसारण संस्था (वाइ एल एफ) सँग कुरा गर्दै स्टबले भने, ‘ग्रिनल्याण्ड सम्बन्धी मामिलाहरू केवल डेनमार्कको हातमा छन्।’ पत्रकारहरूले ट्रम्पको भनाइ बारे सोधेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
वाइ एल एफसँगकै अर्को एक अन्तर्वार्तामा भल्टोनेनले ट्रम्पको दाबीलाई खारेज गरिन । र, डेनमार्कको क्षेत्रीय अखण्डताप्रति फिनल्याण्डको बिनाशर्त समर्थन रहेको कुरामा जोड दिइन्।

गत ८ फेब्रुअरी २०२६ मा खिचिएको यस तस्बिरमा डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्याण्डको नूक स्थित एक झ्यालमा ‘ग्रिनल्याण्ड बिक्रीको लागि होइन’ लेखिएका पोस्टरहरू देखिन्छन्।
भल्टोनेनले यो विषय क्षेत्रीय दाबी भन्दा पनि विद्यमान रक्षा र सुरक्षा व्यवस्थामार्फत सम्बोधन गरिनु पर्ने बताइन्। उनले आर्कटिक सुरक्षा सम्बन्धी चलिरहेका दुई प्रक्रियाहरू तर्फ ध्यानाकर्षण गराइन्। उनले भनिन् कि डेनमार्क र अमेरिका आफ्नो आपसी रक्षा व्यवस्थाको सम्भावित विस्तारबारे सम्पर्कमा छन्। साथै, नेटोले पनि आर्कटिक क्षेत्रमा सुरक्षा सुदृढ गर्न काम गरिरहेको छ र ग्रिनल्याण्ड सोही क्षेत्रको एक हिस्सा हो।

‘हामी फिनल्याण्डमा यो कुरा राम्ररी बुझ्छौं कि आर्कटिक भनेको ग्रिनल्याण्डभन्दा धेरै फराकिलो क्षेत्र हो,’ भल्टोनेनले भनिन्, ‘आउनुहोस्, हामी यी दुई प्रक्रियाहरूमा ध्यान केन्द्रित गरौं। तिनका नतिजाहरू डोनाल्ड ट्रम्पका लागि पनि राम्रो र पर्याप्त हुनेछन्।’
ग्रिनल्याण्ड डेनमार्क अधिराज्य भित्रको एक स्वशासित क्षेत्र हो। यस टापुमा अमेरिकी नियन्त्रणबारे ट्रम्पको बारम्बारको भनाइले युरोपेली सहयोगीहरूमा चिन्ता बढाएको छ र आर्कटिक सुरक्षा, सार्वभौमसत्ता तथा नेटोको एकतासम्बन्धी बहसलाई पुनः जगाएको छ।




