
काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुई वित्तीय संस्था गाभिएसँगै आजदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भएको हो।
दुवै संस्थाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक कानुनी स्वीकृति प्राप्त गरेपछि मर्जर प्रभावकारी भएको बताएका छन्। मर्जरसँगै समृद्धि फाइनान्सका सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय जिम्मेवारी पोखरा फाइनान्स लिमिटेडमा हस्तान्तरण भएका छन्।


एकीकृत संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकमा रहनेछ। यो साविक समृद्धि फाइनान्सको मुख्य कार्यालय रहेको स्थान हो।

मर्जर प्रभावकारी भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुवै संस्थाको सेयर कारोबार आजदेखि रोक्का राखेको छ। मर्जरपछिको सेयर संरचना तथा अन्य प्राविधिक प्रक्रिया पूरा भएपछि कारोबार पुनः सञ्चालन गरिनेछ।
यसअघि नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्समाथि लागू गरिएको शीघ्र सुधारात्मक कारबाही पनि फुकुवा गरेको थियो। समृद्धि फाइनान्ससँगको मर्जरपछि संयुक्त संस्थाको पूँजीकोष अनुपात नियामकीय मापदण्डअनुसार सुधार हुने निष्कर्षका आधारमा केन्द्रीय बैंकले उक्त निर्णय गरेको हो।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण तथा आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासिक सुपरिवेक्षकीय समायोजनपछि संस्थाको पूँजीकोष अनुपात न्यूनतम नियामकीय सीमाभन्दा तल पुगेको थियो। मर्जरपछि भने संस्थाको वित्तीय आधार थप सुदृढ हुने अपेक्षा गरिएको छ।




