इजिप्टको पहिलो आणविक ऊर्जा केन्द्र सन् २०२८ सम्ममा राष्ट्रिय प्रशारण लाइनमा जोडिने

इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबुलीले देशको पहिलो आणविक ऊर्जा केन्द्रको निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको र सन् २०२८ सम्ममा यसको पहिलो रियाक्टर राष्ट्रिय विद्युत प्रशारण लाइनमा जोडिने बताउनुभएको छ । रुसको सरकारी आणविक ऊर्जा निगम (रोसाटोम) का महानिर्देशक एलेक्सी लिखाचेभसँगको भेटका क्रममा प्रधानमन्त्री मदबुलीले सो जानकारी दिनुभएको हो ।

उक्त ऊर्जा केन्द्रको दोस्रो एकाइका लागि ‘रियाक्टर प्रेसर भेसल’ जडान गर्ने विशेष समारोहका अवसरमा उहाँहरूबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री मदबुलीले ‘एल डाबा’ आणविक ऊर्जा केन्द्रलाई मिस्र र रुसबीचको ऐतिहासिक सहयोगको परिणाम र लामो समयदेखि प्रतीक्षित राष्ट्रिय गौरवको आयोजनाका रूपमा व्याख्या गर्नुभयो । सरकारले तोकिएको समयसीमा भित्रै आयोजना सम्पन्न गर्न प्रतिबद्ध रहेको उहाँले दोहो¥याउनु भयो ।

ऊर्जाका स्रोतहरूमा विविधीकरण गर्ने र स्वच्छ ऊर्जाको हिस्सा बढाउँदै बढ्दो विद्युत मागलाई सम्बोधन गर्ने मिस्रको रणनीतिअनुरूप यो आयोजना अघि बढाइएको हो । भेटका क्रममा रोसाटोमका महानिर्देशक लिखाचेभले आयोजनाको प्रगतिबारे जानकारी गराउँदै मिस्र सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँकाअनुसार कूल चारवटा रियाक्टरमध्ये पहिलो रियाक्टर सन् २०२८ मा राष्ट्रिय ग्रिडमा जोडिनेछ भने बाँकी तीनवटा एकाइहरू सन् २०३० सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

कायरोबाट करिव ३०० किलोमिटर उत्तर–पश्चिममा पर्ने मत्रुह प्रान्तको तटीय शहर एल डाबामा निर्माणाधीन यस केन्द्रका प्रत्येक एकाइको विद्युत उत्पादन क्षमता १,२०० मेगावाट रहेको छ । सन् २०१७ को डिसेम्बरमा मिस्र र रुसबीच भएको सम्झौतापछि यो महत्वाकांक्षी आयोजनाको कार्यान्वयन शुरु भएको थियो ।