गणेश नेपालीको जीवन रक्षाका लागि सरकारले कुनै कसर बाँकि नराखोस्ः सभापति खड्का

सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले आत्मदाहको प्रयास गरेका गणेश नेपालीको जीवन रक्षाका लागि कुनै कसर बाँकि नराख्न सरकारसँग आग्रह गर्नुभएको छ ।
शुक्रवार सिंहदरबारमा सञ्चारकर्मीमाझ उहाँले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेको घटनामा जटिल अवस्थामा वीर अस्पतालमा उपचाररत उनको जीवनको रक्षा गर्ने दायित्व सरकारको भएको बताउनुभएको हो ।

उहाँले उनको विदेशमा लगेर भएपनि जीवन बचाउनका लागि सबै खालको शक्ति परिचालन गर्नुपर्ने बताउनु भयो ।

बिहीवार त्रिपुरेश्वरमा सरकारको पक्षबाट महानगर प्रहरीले बाइकमा ह्विल लक लगाएपछि उनले आत्मदाहको प्रयास गरेका थिए । सभापति खडकाले सरकारले यस्तो घटना अब आइन्दा हुन नदिन पनि गम्भिर भएर सोच्न सरकार र संवद्ध सबै पक्षलाई सचेत गराउनु भयो । उहाँले नेपालीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।

सभापति खडकाले भन्नुभयो,‘यो धेरै दर्दनाक कुरा हो । यो आत्मादाह धेरै पीडादायी कुरा हो । यो भन्नै नसकिने म कुन शब्दले भनौ, मलाई पनि गाह्रो भएको छ । एउटा युवक, जसले आज आत्मादाह गर्नुपरेको छ । राज्य गम्भिर हुनुपर्छ । हामी सबै जिम्मेवार  दलहरु गम्भिर हुनु पर्दछ । जनप्रतिनिधिहरु गम्भिर हुनु पर्दछ । आज यो देशमा आत्मादाह गर्नुपर्ने अवस्था किन आईराखेको छ ? यो त गम्भिर विषयहो । विशेष गरेर सरकारले बढी गम्भिर हुनुप¥यो । राज्यप्रतिको विश्वास बढाउनुपर्दछ ।

यो राज्यमा कुनैपनि जातजाति, वर्ग, समुदाय, मेरो पनि यहाँ भविष्य छ । स्वाभिमान तरिकाले म बाँच्न पाउँछु मेरो भविष्य छ ।यहाँ अवसर पाउन सक्छु । राज्यले यो कुराको विश्वास दिलाउनु पर्दछ । हामी सरकारमा बसेका साथीहरुले, दलहरुले र नागरिक समाजले एउटा विश्वासको वातावरण नबनाई हामी अगाडि बढ्न सक्दैनौँ । सरकारले समन्वय गर्ने, सहजीकरण गर्ने, न्याय सम्पादन गर्ने, पीस प्रोसेस गर्ने जस्ता कुराहरु हुन्छन् । र नागरिकको पनि जिम्मेवारी छ । दलको पनि जिम्मेवारी छ । त्यसैले गर्दा यस्ता घटना अबदेखि नदोहोरिउन गम्भिर भएर सबै पक्षले सोचौ । कि यो कलिलो उमेरमा विकल्प नसोचेर हाम्रोप्रति र राज्यका प्रति विश्वास नभएर यो घटना घटेको हुनसक्छ । त्यसैले मैले भर्खरै जानकारी लिएको थिएँ–उहाँको अवस्था ठिक छैन ।

क्रिटिकल पोजिशनमा हुनुहुन्छ । म भगवानसँग प्रार्थना गर्न चाहन्छु कि उहाँको स्वास्थ्य लाभ होस । तर उहाँ अत्यन्तै क्रिटिकल पोजिशनमा हुनुहुन्छ । राज्यले उनलाई बचाउनका लागि सरकारले जुनसुकै कुरामा पनि बचाउनु पर्दछ । जति लाग्छ, जुनसुकै देशमा लगेर भएपनि बचाउनु पर्ने अवस्था आयो भने पनि राज्यको दायित्वको हो नागरिकलाई बचाउने । उहाँलाई बचाउनका लागि राज्यले कुनैपनि कसर बाँकि राख्नु हुँदैन । म नेपाल सरकारसँग पनि जोडदार माग गर्न चाहन्छु, त्यसैले यो एउटा दर्दनाक अवस्था छ । र म उहाँको स्वास्थ्यको सुधारमा पनि कामना गर्दछु ।’

त्यस अवसरमा सभापति खड्काले राज्यप्रति भरोसा नभएपछि नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्दै यस घटनामा सरकार, राजनीतिक दल, नागरिक समाजलगायत सम्वद्ध सबै पक्ष सचेत हुनुपर्ने पनि बताउनु भयो ।