अस्ट्रेलियाको बिग बास लिगको उद्घाटन खेल भारतमा हुने

काठमाडौँ । अस्ट्रेलियाको चर्चित घरेलु टी-२० प्रतियोगिता बिग बास लिगको १६औँ संस्करणको उद्घाटन खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम (चेपक) रङ्गशालामा हुने भएको छ ।

विदेशी क्रिकेट लिगको खेल भारतमा आयोजना हुन लागेको यो पहिलो अवसर हुनेछ ।

शुक्रबार अस्ट्रेलिया भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे घोषणा गरेका हुन् । उनी अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग मेलबर्न क्रिकेट मैदान पुगेका थिए । सो अवसरमा अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ वा तथा पूर्वमहिला क्रिकेटर लिसा स्टालेकर पनि उपस्थित थिए ।

त्यसपछि क्रिकेट अस्ट्रेलियाले सन् २०२६-२७ सिजनको खेल तालिका सार्वजनिक गर्दै बिग बास लिगको उद्घाटन खेल आगामी डिसेम्बर १२ मा चेन्नईको चेपक रङ्गशालामा हुने जनाएको छ । उद्घाटन खेलमा मेलबर्न रेनेगेड्स र साविक विजेता पर्थ स्कर्चर्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा मेलबर्न रेनेगेड्स घरेलु टोलीका रूपमा मैदान उत्रिनेछ ।

क्रिकेट अस्ट्रेलियाका अनुसार बिग बास लिगको इतिहासमा पहिलो पटक प्रतियोगिताको खेल अस्ट्रेलियाबाहिर आयोजना हुन लागेको हो । विश्वकै ठूलो क्रिकेट बजार मानिने भारतमा प्रतियोगिताको पहुँच विस्तार गर्दै बिग बास लिगलाई अन्तर्राष्ट्रिय स्तरमा थप लोकप्रिय बनाउने उद्देश्यले यो निर्णय गरिएको जनाइएको छ ।

उक्त खेल अस्ट्रेलियामा च्यानल सेभेन, सेभेन प्लस, कायो स्पोर्ट्स र फक्स क्रिकेटमार्फत प्रत्यक्ष प्रसारण हुनेछ भने भारतमा जियोस्टारले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।