दुर्घटनास्थलमै डीआईजी भट्टको मानवताः आफैं उद्धारमा खटिए

सञ्जय मिश्रा
रौतहट, २७ असार । मधेश प्रदेश  सशस्त्र प्रहरी बलका डीआईजी विष्णुप्रसाद भट्टले सडक दुर्घटनामा घाइते भएका यात्रुको तत्काल उद्धार गरी अस्पताल पुर्‍याएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको कार्यको व्यापक प्रशंसा भइरहेको छ।

धनुषाको मटिहानी क्षेत्रबाट फर्किरहेका बेला विपरीत दिशाबाट आएको यात्रुवाहक टेम्पु दुर्घटनामा परेको देखेपछि डीआईजी भट्ट आफ्नो टोलीसहित तत्काल घटनास्थलमा पुगेका थिए। उनले उद्धारको जिम्मेवारी अरूलाई नदिई स्वयं घाइतेहरूलाई टेम्पुबाट बाहिर निकाल्न सक्रिय भूमिका खेलेका थिए।

स्थानीयवासीका अनुसार घाइते यात्रुलाई डीआईजी भट्टले सशस्त्र प्रहरी बलको आफ्नै सरकारी सवारीमा राखेर उपचारका लागि जनकपुरस्थित अस्पताल पुर्‍याएका थिए। दुर्घटनापछि केही मिनेटमै सुरक्षा टोली उद्धारमा सक्रिय भएकाले घाइतेहरूले समयमै उपचार पाएको स्थानीयको भनाइ छ।

घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हजारौँले डीआईजी भट्टको प्रशंसा गर्दै ‘सुरक्षा निकायले देश र जनताको सेवाको लागि खाएको कसम व्यवहारमै देखियो’ भन्ने प्रतिक्रिया दिएका छन्।

स्थानीयवासीहरूले पनि सुरक्षा निकायप्रति विश्वास बढाउने खालको कार्य भएको उल्लेख गर्दै डीआईजी भट्टप्रति धन्यवाद व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, “पदमा बसेर निर्देशन दिने मात्र होइन, आफैं अग्रपङ्क्तिमा उभिएर घाइतेको उद्धार गर्नु वास्तविक नेतृत्वको उदाहरण हो।”

सुरक्षा निकायको भूमिका केवल शान्ति सुरक्षा कायम गर्ने वा अपराध नियन्त्रणमा सीमित हुँदैन। विपद्, दुर्घटना तथा मानवीय संकटका बेला तत्काल उद्धार र राहत उपलब्ध गराउनु पनि सुरक्षा संगठनको प्रमुख दायित्व हो। डीआईजी विष्णुप्रसाद भट्टको यो कार्यले त्यही जिम्मेवारीलाई व्यवहारमा उतारेको देखिन्छ।

विशेषगरी पछिल्लो समय सरकारी अधिकारीप्रति नागरिकको विश्वास घटिरहेको चर्चा भइरहेका बेला उच्च तहका सुरक्षा अधिकारी स्वयं उद्धारमा खटिएको दृश्यले सकारात्मक सन्देश दिएको छ। यसले नेतृत्व भनेको आदेश दिने मात्र नभई आवश्यक पर्दा अग्रपङ्क्तिमा उभिने जिम्मेवारी पनि हो भन्ने सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।

डीआईजी भट्ट यसअघि पनि मधेश प्रदेशका सीमावर्ती क्षेत्रमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने, सीमा नाकाबाट हुने चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका विषयमा अन्तरक्रिया सञ्चालन गर्दै आएका अधिकारीका रूपमा परिचित छन्। त्यसैले उनको पछिल्लो मानवीय कार्यलाई स्थानीयले उनको कार्यशैलीकै निरन्तरताका रूपमा हेरेका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको यो घटनाले सुरक्षा निकायप्रतिको सकारात्मक छवि निर्माण गर्न मात्र होइन, जनमुखी नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको टिप्पणी हुन थालेको छ।

images