
इजिप्टको वार्षिक मुद्रास्फीति दर जुन महिनामा केही ओरालो लागेको छ । इजिप्टको केन्द्रिय तथ्याङ्क निकायले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुन महिनामा वार्षिक मुद्रास्फीति दर १२.२ प्रतिशतमा झरेको छ । अघिल्लो महिना अर्थात् मे महिनामा यो दर १३ प्रतिशत रहेको थियो ।
तथ्याङ्क निकायकाअनुसार जुन महिनामा राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकांक २८९.५ अंकमा कायम भएको छ, जुन मे महिनाको तुलनामा ०.९ प्रतिशतको गिरावट हो । विशेषगरी खाद्य सामग्रीको मूल्यमा आएको कमीले समग्र मुद्रास्फीति घटाउन मद्दत पु¥याएको हो ।


जुन महिनामा मासु तथा पोल्ट्रीजन्य उत्पादनको मूल्य ६.४ प्रतिशत, दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्य २.४ प्रतिशत र तरकारीको मूल्य १२.१ प्रतिशतले घटेको छ । समग्रमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा ३.७ प्रतिशतको मासिक गिरावट आएको छ । यद्यपि, आवास, खानेपानी, विद्युत, ग्यास र इन्धनको मूल्यमा १.५ प्रतिशत, स्वास्थ्य सेवामा ०.६ प्रतिशत र मनोरञ्जन तथा संस्कृति क्षेत्रमा ७.२ प्रतिशतको वृद्धि देखिएको छ । वार्षिक तुलनात्मक आधारमा भने खाद्य तथा पेय पदार्थको मूल्यमा ४.७ प्रतिशतको वृद्धि भएको छ ।

यसमध्ये तरकारीको मूल्यमा २९.९ प्रतिशत, खाद्यान्न तथा रोटीमा ३ प्रतिशत र मासु तथा पोल्ट्रीमा १ प्रतिशतको वार्षिक वृद्धि देखिएको प्रतिवेदनमा उल्लेख छ । अन्य क्षेत्रतर्फ आवास तथा इन्धनमा ३१.२ प्रतिशत, यातायात तथा सञ्चारमा २१.१ प्रतिशत र शिक्षा क्षेत्रमा २० प्रतिशतले मूल्यवृद्धि भएको छ ।
यसैबीच, इजिप्टको केन्द्रिय बैंकले वैदेशिक रोजगारीमा रहेका आफ्ना नागरिकहरूले पठाउने रेमिट्यान्स (विप्रेषण) मा उल्लेख्य वृद्धि भएको जनाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०२५-२०२६ को पहिलो ११ महिनामा रेमिट्यान्स आप्रवाह ३१.२ प्रतिशतले बढेर करिब ४३.१ अर्ब अमेरिकी डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३२.८ अर्ब डलर रेमिट्यान्स भित्रिएको थियो । इजिप्टको वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत मानिने रेमिट्यान्समा जुलाईदेखि मे महिनासम्मको अवधिमा निरन्तर सुधार देखिएको केन्द्रिय बैंकले उल्लेख गरेको छ ।





