
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिममा औसत स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई क्षेत्र नजिक रहेको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ। साथै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षा तथा ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।

भारी वर्षाका कारण नदी–नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।




