
काठमाडौँ । इटालीका यानिक सिनरले जर्मनीका अलेक्जेन्डर ज्भेरेभलाई पराजित गर्दै लगातार दोस्रो पटक विम्बल्डन पुरुष एकलको उपाधि जितेका छन् ।
गएराती सम्पन्न फाइनलमा विश्व नम्बर एक सिनरले निकै प्रतिस्पर्धात्मक खेलमा ज्भेरेभलाई ६–७ (७–९), ७–६ (७–२), ६–३ र ६–४ को सेटमा हराउँदै उपाधि आफ्नो नाम गरेका हुन् ।

पहिलो सेट गुमाएका सिनरले त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेका थिए । तीन घण्टा ४६ मिनेटसम्म चलेको यो खेल सिनरको करिअरकै दोस्रो सबैभन्दा लामो जित बनेको छ ।
गत महिना फ्रेन्च खुला प्रतियोगितामा पहिलो पटक ग्रान्ड स्लाम उपाधि जितेका दोस्रो वरीयताका ज्भेरेभले फाइनलमा आक्रामक र आत्मविश्वासपूर्ण प्रदर्शन गरे पनि सिनरलाई रोक्न सकेनन् । दुवै खेलाडीबीच उच्चस्तरीय प्रतिस्पर्धा भएको थियो ।


योसँगै सिनरले आफ्नो करिअरको पाँचौँ ग्रान्ड स्लाम उपाधि जितेका छन् । सन् २०२६ मा उनले जितेको यो पहिलो ठूलो उपाधि पनि हो । उपाधिपछि सिनरले फाइनल निकै उत्कृष्ट भएको बताउँदै दुवै खेलाडीले उच्चस्तरको प्रदर्शन गरेको प्रतिक्रिया दिए। उनले जितसँगै खेलको स्तरबाट पनि आफू निकै खुसी भएको बताए ।

खेल हेर्न बेलायतका युवराज तथा युवरानीका साथै हलिउड कलाकार निकोल किडम्यान र बेन स्टिलर पनि उपस्थित थिए ।
यो जितसँगै सिनरले ज्भेरेभविरुद्ध लगातार १०औँ जित दर्ता गरेका छन् । साथै सन् १९६८ मा खुला युग सुरु भएयता लगातार दुई पटक विम्बल्डन पुरुष एकल उपाधि जोगाउने दशौँ खेलाडी बनेका छन् ।





