बहुध्रुवीय विश्वमा अफ्रिकाको भू–राजनीतिक र आर्थिक भूमिका सुदृढ गर्ने विषयमा सम्मेलन शुरु

कोते डी आइभोरको आर्थिक राजधानी आबिदजानमा ‘बहुध्रुवीय विश्वमा अफ्रिकाको भू–राजनीतिक सामथ्र्य र व्यापारिक लचकताको सुदृढीकरण’ भन्ने मुख्य विषयवस्तुका साथ सन् २०२६ को अफ्रिकी आर्थिक सम्मेलन (एईसी) शुरु भएको छ ।

शुक्रवारदेखि आईतवारसम्म सञ्चालन हुने यस सम्मेलनमा अफ्रिका र विश्वभरका अर्थशास्त्री, अनुसन्धानकर्ता, सरकारी अधिकारीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । अन्तर्राष्ट्रिय व्यवस्थामा आएको व्यापक परिवर्तनका बीच विश्वव्यापी आर्थिक शासन प्रणालीमा अफ्रिकी महाद्वीपले कसरी थप प्रभावशाली भूमिका निर्वाह गर्न सक्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको छ । सम्मेलनलाई सम्बोधन गर्दै कोते डी आइभोरका योजना तथा विकासमन्त्री सुलेमान दियारासुबाले वर्तमान चुनौतीहरूका बीच अफ्रिका केवल कच्चा पदार्थको आपूर्तिकर्ताको रूपमा मात्र सीमित हुन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अफ्रिकाले विश्वव्यापी मूल्य श्रृंखलामा एक प्रमुख हिस्सेदारका रूपमा आफूलाई स्थापित गर्नुपर्दछ । यो महाद्वीप आर्थिक वृद्धि, नवप्रवर्तन र औद्योगिकीकरणको संवाहक बन्नुका साथै विश्वव्यापी आर्थिक शासन प्रणालीमा आफ्ना हितहरूको प्रभावकारी रक्षा गर्न सक्षम हुनुपर्छ ।’

यसैगरी, अफ्रिकी विकास बैंकका मुख्य अर्थशास्त्री तथा आर्थिक शासन एवं ज्ञान व्यवस्थापन विभागका उपाध्यक्ष केभिन चिका उरामाले विश्वव्यापी आर्थिक व्यवस्थामा बहुध्रुवीकरण बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँकाअनुसार व्यापारिक, आर्थिक, राजनीतिक र सैन्य सम्बन्धमा वर्चस्व कायम गर्ने शक्ति केन्द्रहरूमा परिवर्तन आइरहेको छ ।

उरामाले परिवर्तित विश्व व्यवस्था थप समावेशी र बहुलवादी बन्दै गएको तर्क गर्दै यसले देशहरूलाई साझेदारी र व्यापारिक सम्बन्धका लागि थप विकल्प र अवसरहरू प्रदान गर्ने बताउनुभयो। यसै सन्दर्भमा अफ्रिकी विकास बैंक समूह, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले परिवर्तित विश्व आर्थिक व्यवस्थामा अफ्रिकाको भू–राजनीतिक उपस्थिति बलियो बनाउन अर्थशास्त्री र नीति निर्माताहरूलाई विशेष छलफलका लागि आह्वान गरेका छन् ।