
काठमाडौँ । पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोको सन् २०२६ को फिफा विश्वकप यात्रा अपेक्षाअनुसार सफल हुन सकेन । पोर्चुगल प्रतियोगिताबाट बाहिरिएपछि टोलीको मध्यपङ्क्तिमाथि व्यापक आलोचना भइरहेको छ । समर्थकहरूले भिटिन्हा, ब्रुनो फर्नान्डेस र जोआओ नेभेसले रोनाल्डोलाई पर्याप्त अवसर सिर्जना गर्न नसकेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।
यसैबीच सामाजिक सञ्जालमा रोनाल्डोका १६ वर्षीय छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले भविष्यमा कुन देशबाट अन्तर्राष्ट्रिय फुटबल खेल्ने भन्ने विषयले चर्चा पाएको छ । हाल उनी पोर्चुगलसहित पाँच राष्ट्रबाट खेल्न योग्य छन् ।

रोनाल्डो जुनियरले अहिलेसम्म पोर्चुगलको १५ वर्षमुनि र १६ वर्षमुनिको टोलीबाट खेलिसकेका छन्। उनले म्यानचेस्टर युनाइटेड, युभेन्टस र अलनासरका युवा एकेडेमीमा प्रशिक्षण पनि लिएका छन् ।


उनको विकास यही गतिमा जारी रहेमा भविष्यमा बुबाको उत्तराधिकारलाई निरन्तरता दिँदै पोर्चुगलको सिनियर टोलीबाट खेल्ने सम्भावना सबैभन्दा बलियो मानिएको छ । पोर्चुगलका समर्थकहरूले पनि उनीबाट ठूलो अपेक्षा राखेका छन् । उनले पनि बुबाजस्तै सात नम्बरको जर्सी लगाउने गरेका छन् ।
यी चार देशबाट पनि खेल्न पाउने योग्यता

रोनाल्डो जुनियरसँग पोर्चुगल बाहेक अन्य चार देशबाट पनि खेल्ने कानुनी आधार छ ।
अमेरिका: उनको जन्म अमेरिकाको क्यालिफोर्निया राज्यको ला मेसा सहरमा भएकाले जन्मका आधारमा अमेरिकी राष्ट्रिय टोलीबाट खेल्न योग्य छन् ।

स्पेन : बुबा रियल म्याड्रिडमा रहँदा उनी लामो समय स्पेनमा बसेका थिए। आवश्यक कानुनी प्रक्रिया पूरा भए स्पेनी नागरिकता लिएर स्पेनबाट पनि खेल्न सक्छन् ।
इङ्ग्ल्यान्ड: परिवारले म्यानचेस्टर युनाइटेडमा रोनाल्डोको बसाइका क्रममा इङ्ग्ल्यान्डमा पनि लामो समय बिताएको थियो । आवश्यक प्रक्रिया पूरा भए इङ्ग्ल्यान्डबाट खेल्ने विकल्प पनि खुला छ।
केप भर्डे: हजुरआमाको पारिवारिक सम्बन्धका आधारमा अफ्रिकी राष्ट्र केप भर्डेबाट पनि खेल्न पाउने योग्यता उनीसँग रहेको बताइन्छ। यद्यपि यो सम्भावना सबैभन्दा कम मानिएको छ।
फिफाको नियम के भन्छ ?

फिफाका अनुसार कुनै खेलाडीले मुख्यतः तीन आधारमा कुनै देशको प्रतिनिधित्व गर्न सक्छ । जस अनुसार जन्म भएको देश, बाबुआमा वा हजुरबुबा-हजुरआमाको नागरिकता वा वंश वा लामो समयसम्म बसेर नागरिकता प्राप्त गरेको देश ।
यदि खेलाडीले सिनियर राष्ट्रिय टोलीबाट आधिकारिक प्रतिस्पर्धात्मक खेल खेलिसकेको छ भने सामान्यतया अर्को देशबाट खेल्न पाउँदैन । तर सन् २०२० मा फिफाले नियम संशोधन गर्दै निश्चित सर्त पूरा गर्ने दोहोरो नागरिकता भएका खेलाडीलाई एकपटक राष्ट्रिय टोली परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ । यसका लागि खेलाडीले तीनभन्दा बढी आधिकारिक अन्तर्राष्ट्रिय खेल नखेलेको, अन्तिम खेल खेल्दा २१ वर्ष ननाघेको, विश्वकप वा महादेशीय प्रतियोगिताको अन्तिम चरण नखेलेको, तीन वर्षको अन्तर राखेको र अर्को देशको नागरिकता पहिलो राष्ट्रिय टोलीबाट खेल्नुअघि नै प्राप्त गरेको हुनुपर्छ। राष्ट्रिय टोली परिवर्तन गर्ने अवसर जीवनमा एकपटक मात्रै पाइन्छ ।
हाल रोनाल्डो जुनियर पोर्चुगलको उमेर समूहको टोलीमा रहेकाले भविष्यमा पोर्चुगलकै सिनियर टोलीबाट खेल्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ । तर उनले सिनियर स्तरमा आधिकारिक खेल नखेलेसम्म र फिफाका सबै सर्त पूरा भएमा अमेरिका, स्पेन, इङ्ग्ल्यान्ड वा केप भर्डेमध्ये कुनै एक देश रोज्ने विकल्प पनि खुला रहनेछ ।
यदि उनको प्रगति यही गतिमा जारी रह्यो भने सन् २०३० वा त्यसपछिका विश्वकपमा उनी विश्व फुटबलका सबैभन्दा चर्चित युवा खेलाडीमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।





