जेनजी अभियन्ता माजिद अन्सारीको गृहमन्त्रीलाई प्रश्न- मलाई किन पक्राउ गरियो ?

काठमाडौँ । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापक्राउ पुर्जी पक्राउ गरिएको भन्दै गृहमन्त्री सुदन गुरुङसँग प्रश्न सोधेका छन् ।

अन्सारीले गत असार २७ गते शनिबार साँझ करिब ५ बजे १०-१२ जना प्रहरीले आफूलाई लछारपछार गर्दै कुटपिट गरेको र गम्भीर घाइते बनाएको दाबी गरेका छन् । हाल आफ्नो उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको उनले बताएका छन् ।

उनले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिइएको र पक्राउका क्रममा कुनै पुर्जीसमेत नदेखाइएको बताएका छन्। पक्राउको कानुनी आधारबारे समेत स्पष्ट जानकारी नदिइएको उनको भनाइ छ ।

उनले भनेका छन्- ‘मेरो पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्टता छैन। गृहमन्त्री वा प्रहरी प्रमुखले यी सबै गैरकानुनी कारबाहीहरू किन लक्षित रूपमा मविरुद्ध गरिए भन्ने स्पष्ट पार्न सक्नुहुन्छ ?

उनले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षाका लागि सम्बन्धित सरकारी निकाय, संघीय संसद्का सदस्यहरू, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय र मानव अधिकार रक्षकहरूलाई पहल गर्न आग्रह गरेका छन्।