माइकल ज्याक्सनको जीवनीमा आधारित चलचित्र ‘माइकल’ ले कमायो एक अर्ब डलर

काठमाडौँ । विश्वप्रसिद्ध गायक तथा डान्सर माइकल ज्याक्सनको जीवनमा आधारित चलचित्र ‘माइकल’ ले विश्वभरबाट एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

गत अप्रिल २४ मा प्रदर्शनमा आएको चलचित्रले विश्वभर एक अर्ब १ करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यससँगै ‘माइकल’ विश्वकै पहिलो जीवनीमा आधारित चलचित्र बनेको छ, जसले एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्न सफल भएको हो ।

प्रतिवेदनअनुसार चलचित्रले अमेरिकाबाहिर ६२ करोड ९८ लाख अमेरिकी डलर र अमेरिकी घरेलु बजारमा ३७ करोड १८ लाख अमेरिकी डलर कमाएको छ । यससँगै यसको कुल आम्दानी एक अर्ब अमेरिकी डलर नाघेको हो ।

प्रदर्शनको पहिलो सातादेखि नै चलचित्रले बक्स अफिसमा लगातार नयाँ कीर्तिमान बनाउँदै आएको थियो । पहिलो सप्ताहन्तमै अमेरिकामा ९ करोड ७० लाख अमेरिकी डलर र विश्वभर २१ करोड ७० लाख अमेरिकी डलर कमाउँदै यसले सन् २०१५ मा प्रदर्शन भएको स्ट्रेट आउट्टा कम्पटन चलचित्रको कीर्तिमान पनि तोडेको थियो ।

यससँगै ‘माइकल’ सबैभन्दा धेरै कमाइ गर्ने सङ्गीतमूलक जीवनी चलचित्र पनि बनेको छ । यसअघि सन् २०१८ मा प्रदर्शन भएको बोहेमियन र्याप्सोडी ले ९१ करोड १० लाख अमेरिकी डलर कमाएको थियो । ‘माइकल’ले उक्त कीर्तिमान पनि उछिनेको छ । साथै यो निर्माण संस्था लायन्सगेट को इतिहासकै सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ भने सो संस्थाको एक अर्ब अमेरिकी डलर कमाउने पहिलो चलचित्र पनि बनेको छ ।

चलचित्रमा माइकल ज्याक्सनको बाल्यकालदेखि विश्वप्रसिद्ध कलाकार बन्नेसम्मको संघर्ष, सफलता र व्यक्तिगत जीवनका महत्वपूर्ण घटनालाई प्रस्तुत गरिएको छ । चलचित्रको निर्देशन एन्टोइन फुक्वाले गरेका हुन् ।

चलचित्रमा माइकल ज्याक्सनको भूमिका उनका भतिजा जाफर ज्याक्सन ले निर्वाह गरेका छन् । साथै माइल्स टेलर, कोलम्यान डोमिङ्गो, क्याट ग्राहम र निया लङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।