
काठमाडौं। राजधानी काठमाडौंमा सोमबार बिहान एकपछि अर्को स्थानमा शंकास्पद रूपमा गाडी पार्किङ गरिएका घटनाले सुरक्षा संयन्त्रलाई सतर्क बनाएको छ। सञ्चारगृहका कार्यालयदेखि नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडिसम्म शंकास्पद अवस्थामा गाडी राखिएपछि प्रहरीले ती घटनाबारे अनुसन्धान सुरु गरेको छ।
बिहान करिब ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन को कार्यालय प्रवेशद्वारमै गाडी पार्किङ गरिएपछि पत्रकार तथा कर्मचारीको आवतजावत प्रभावित भएको थियो। यसैबीच, रातोपुलस्थित कांग्रेस नेता गगन थापा को निवासअगाडि पनि बीएसी ९५७५ नम्बरको कार शंकास्पद रूपमा पार्किङ गरिएको भेटिएको छ। अनामनगरस्थित भाटभटेनी अगाडि पनि अर्को शंकास्पद गाडी फेला परेको जानकारी आएको छ।


घटनाप्रति नेपाल पत्रकार महासंघ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यमको नियमित काममा अवरोध सिर्जना भएको र पत्रकारमा त्रासको वातावरण बनेको उल्लेख गर्दै तत्काल निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।


महासंघकी अध्यक्ष निर्मला शर्मासहितको टोलीले प्रभावित सञ्चारगृहको स्थलगत निरीक्षण गर्दै घटनालाई शंकास्पद र गम्भीर प्रकृतिको भन्दै सरकारले संवेदनशील रूपमा अनुसन्धान अघि बढाउनुपर्ने धारणा व्यक्त गरेको छ।

प्रहरीले सबै स्थानमा पुगेर गाडीधनीको खोजी तथा घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। हालसम्म ती गाडी कसले, किन र कुन उद्देश्यले पार्किङ गरेको हो भन्ने विषय खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।




