
काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावबीच रुसले आफ्नो अत्यन्त सुरक्षित मानिएको टु-२१४ पियू विमान इरानको राजधानी तेहरान पठाएको दाबी गरिएको छ । विश्वभर उडिरहेका विमानको वास्तविक समयको स्थान देखाउने वेबसाइट फ्लाइटराडार२४ ले यस्तो दाबी गरेको हो ।
टु–२१४ पियू सामान्य विशिष्ट व्यक्तिका लागि प्रयोग हुने विमान होइन । यसमा सुरक्षित तथा गोप्य सञ्चार प्रणाली, निर्देशन तथा नियन्त्रण प्रणाली र विशेष तथ्याङ्क आदानप्रदान प्रणाली जडान गरिएको हुन्छ । यसको प्रयोग गरेर संकटको अवस्थामा पनि रुसका उच्च नेतृत्वले आकाशमै रहेर सेना र सरकारका गतिविधि सञ्चालन गर्न सक्छन् ।


यही विशेष क्षमताका कारण यस विमानलाई रुसको ‘प्रलयको दिन प्रयोग हुने विमान’ भनेर पनि चिनिन्छ । यो विमान रुसी विशेष उडान टोलीले सञ्चालन गर्छ । यही टोलीले रुसी राष्ट्रपति तथा देशका उच्च राजनीतिक र सैन्य नेतृत्वका उडानको व्यवस्थापन गर्दै आएको छ ।

टु–२१४ पियू विमानका सबै उडान विवरण सार्वजनिक गरिँदैनन् । तर युक्रेन युद्धका क्रममा यो विमान पटक–पटक उडान गरेको देखिएको थियो । रुससँग यस्ता कति वटा विमान छन् भन्ने जानकारी पनि सार्वजनिक छैन ।
अमेरिकाले इरानका सैन्य अखडामा लगातार आक्रमण गरिरहेको र इरानले पनि जवाफी कारबाही गरिरहेको समयमा यो विमान तेहरान पुगेको हो । विज्ञहरूले यसको आगमनलाई महत्वपूर्ण रणनीतिक संकेतका रूपमा लिएका छन् । यसले रुसले इरानसँग उच्च तहमा सम्पर्क र समन्वय कायम राखिरहेको सन्देश दिएको उनीहरूको भनाइ छ ।

इरान र अमेरिकाबीचको सैन्य तनाव अझै जारी छ । अमेरिकाले आइतबार इरानका करिब १४० वटा स्थानमा क्षेप्यास्त्र र मानवरहित विमानमार्फत आक्रमण गरेको दाबी गरेको थियो। त्यसको जवाफमा इरानले सोमबार कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको दाबी गरेको छ ।




