रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

काठमाडौं, २६ असार। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधान संशोधनको नाममा वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले नाटकमञ्चन गरिरहेको र परिवर्तनकारी शक्तिहरुमाथि मजाक गरिरहेको टिप्पणी गरेका छन्। उनले संविधान संशोधन कार्यदल नै खारेजको माग गरेका छन्।

संविधान संशोधनजस्तो गम्भीर विषयमा प्रधानमन्त्री शाहले संविधानको सत्व नै नबुझेका व्यक्तिलाई यसको जिम्मा दिएर सुरुमै मजाक उडाईसकेको उल्लेख गर्दै अध्यक्ष साहले रास्वपा र वालेन शाहले संविधान संशोधनको नाममा नाटकमात्रै मञ्चन गरेको घट्नाक्रमले पुष्टि गरिसकेको बताए। साहले प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनको लागि बहसपत्र तयार गर्न गठित कार्यदलको वैधानिकतामाथि सुरुदेखि नै प्रश्न उठाउँदै आएका छन्। बालेन सरकारले संसद् छलेर सेनामार्फत शासन चलाएजस्तै संसद्लाई बेवास्ता गरेर सिंहदरबारबाट संशोधन कार्यदल बनाएर विधिको धज्जी उडाएको साहको गम्भीर आरोप छ।

आज (सोमवार ) सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा साहले संविधानमा साँच्चिकै सुधार र संशोधन चाहेको भए रास्वपा र वालेन शाहले राजनीतिक रुपमा अलिक गम्भीर विचारधारा र चेतना बोकेका अनि योगदान पुर्याएका व्यक्तित्वलाई यसको जिम्मा दिनसक्नेमा फिल्म र भिडिओ डिरेक्सनमा रुचि रहेको र काम गरेको व्यक्तिलाई संविधान संशोधनजस्तो गम्भीर विषयको भारी बोकाएर राष्ट्रिय राजनीतिमा नै कमेडी गरिरहेको टिप्पणी गरे। उनले असार मसान्तमा सकिने कार्यदलको म्याद अब नथप्न र तत्काल खारेज गर्न सरकारलाई सुझाव दिएका छन्। वालेन शाहले प्रधानमन्त्रीको सपथ खाएको तीन दिनपछि अर्थात २०८२ साल चैत्र १६ गतै नै असिम शाहको नेतृत्वमा ‘संविधान संशोधन बहस पत्र तयारी गर्ने कार्यदल–२०८२’ गठन गरिएको थियो।

पूर्वमन्त्री साहले अहिलेको संविधानले देशलाई पार लगाउन नसक्ने कुरा आफूले संविधान जारी गर्दाको बखतमा नै बहिष्कार गरेर विद्रोहको विगुल फुसिकेको स्मरण गराए। उनले ६०१ संविधानसभा सदस्यमा आफूमात्र एक्लो सांसद रहेको र संविधानमा हस्ताक्षर नगरेको सुनाए। उनले भने, “यो संविधानले विभिन्न संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा हुँदैन र देशले सही दिशा समात्दैन भन्ने कुरामा ढुक्क भएर नै मैले संविधानमा हस्ताक्षर गरिनँ, त्यसबापत मैले पार्टीबाट साधारण सदस्यतापनि नरहनेगरि कारबाही भोग्नुपरेको थियो, तर आज एक दशक नबित्दै देश कहाँ पुग्यो ? सिस्टम नै खराब भएपछि रिजल्ट पनि खराब नै भोग्नुपर्छ। हामी त सिस्टम सुधारको पक्षमा छौं।”

आजपाले सिस्टम सुधारको लागि दुई वर्षअघि नै तेस्रोजनआन्दोलन अपरिहार्य भन्दै सार्वजनिक घोषणा गरेको पनि उनले स्मरण गराए। जेनजीहरुले साहसिक कदम चालेर विश्वमै नभएको अद्धितीय क्रान्ति गरेर पूरानो सत्ता ढालेपनि संविधान जस्ताको त्यस्तै राख्ने नाममा फेरि देशलाई कालो दिनतर्फ फर्काएर दिशाहीन बनाईएको र अहिले संविधान संशोधनको नाटकमात्र रचिएको साहको आरोप छ। संविधान सुधार गरेर व्यवस्था नै व्यवस्थित् गर्ने अवसर आउँदापनि सुशीला कार्की र बालेन शाहले जानीजानी अवसर कुल्चिएर युवाहरुको बलिदानीको अपमान गरेको साहको आरोप छ।

सुशिला कार्की र बालेन शाहहरुले संविधानमा सुधार चाहेको भए भदौमा सम्पन्न जेन–जी आन्दोलनको बेलामा नै संविधान संशोधन हुनसक्ने थियो र देशले अहिलेसम्म सही दिशा समात्ने थियो भन्ने उनको बुझाई थियो। तर, अहिले जसले संविधान लेखन प्रक्रियामा नै फउल खेले र जालझेल गरे उनीहरुसँग नै वालेन सरकारले सुझावको नाममा घरदैलो गरेर नाटक गरिरहेको साहको आरोप छ। उनले संविधानमा संशोधन चाहेको हो भने संविधानलाई चूनौति दिएका र सुधारको लागि आवाज र आन्दोलन गरेका शक्तिहरुसँग गम्भीर सुझाव लिनुपर्नेमा अहिलेको सरकारले त्यसो नगरेकोमा पनि आक्रोश पोखे। उनले संविधान संशोधनको लागि वालेन शाह अघि बढे सदनमा नै फेल हुने ठोकुवा पनि गरे। रास्वपाका बहुमत सांसदले संविधान संशोधनको लागि बालेन सरकारलाई सदनमा साथ नदिने उनको दाबी छ।

उनले रास्वपाले प्रदेश संरचना खारेज गर्ने कुरा महाधिवेशनमार्फत राजनीतिक डकुमेन्टमा उल्लेख गरेको विषयमा पनि यसअघि नै कडा प्रतिवाद गरिसकेका छन्। सरकारको एक सय दिन र रास्वपाको चितवनको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा नसक्ने र यसको नेतृत्वहरु कागजी डुंगामा सवार भएकोले मुलुकलाई पार लगाउनु त परै जाओस स्वयम उनीहरु पनि डुब्ने निश्चित्प्रायः रहेको अध्यक्ष साहको दाबी छ। वालेन्न सरकार निमुखाहरुमाथि निर्दयी बन्नुको साथै प्रश्नभन्दा पर र विधि छलेर बलमा रमाउन थालेको उनको आरोप छ।