
अर्घा–खाँचीको ऐतिहासिक सन्धि स्थलमा राजाहरूको सालिक स्थापना, नयाँ पुस्तालाई इतिहाससँग जोड्ने अपेक्षा
– केशव पन्थी, अर्घाखाँची डटकम।

अर्घाखाँची, सन्धिखर्क। अर्घा र खाँचीका तत्कालीन राजाहरूले सन्धि गरेको ऐतिहासिक स्थलका रूपमा परिचित सन्धिखर्कमा दुवै राजाको सालिक स्थापना गरिएको छ। इतिहास संरक्षण, स्थानीय पहिचान प्रवर्द्धन तथा नयाँ पुस्तालाई जिल्लाको गौरवशाली इतिहाससँग परिचित गराउने उद्देश्यले सालिक निर्माण गरिएको हो।


लुम्बिनी प्रदेश सरकारको ८ लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त सालिकले सन्धिखर्कको ऐतिहासिक महत्त्वलाई थप उजागर गरेको छ। सालिक स्थापना भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई अर्घाखाँचीको इतिहास बुझ्न सहज हुने विश्वास गरिएको छ।


सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको सालिकले जिल्लाको ऐतिहासिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले इतिहास केवल पुस्तकमा सीमित नभई भावी पुस्ताले प्रत्यक्ष देख्न, बुझ्न र सिक्न सक्ने वातावरण सिर्जना गर्न यस्ता संरचनाको आवश्यकता रहेको उल्लेख गर्नुभयो।


सन्धिखर्क नगरपालिका–१ का वडाध्यक्ष माधव श्रेष्ठले अर्घा र खाँची राज्यबीच भएको ऐतिहासिक सन्धिको स्मरण गराउने यो सालिकले सन्धिखर्कको पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार धेरै नयाँ पुस्ताले जिल्लाको नाम कसरी रहन गयो र सन्धिखर्कको ऐतिहासिक पृष्ठभूमि के हो भन्ने विषयमा पर्याप्त जानकारी पाएका छैनन्। सालिक स्थापना भएपछि उनीहरूलाई स्थानीय इतिहास बुझ्न सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुरा बहादुर केसीले जिल्लाभित्र रहेका अन्य ऐतिहासिक महत्वका स्थानहरूलाई समेत संरक्षण र प्रवर्द्धन गर्ने योजना रहेको बताउनुभयो। उहाँले इतिहास झल्किने स्थानहरूमा क्रमशः सालिक, स्मारक तथा सूचना सामग्री स्थापना गर्दै जिल्लाको सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणलाई निरन्तरता दिइने जानकारी दिनुभयो।


स्थानीयवासीका अनुसार अर्घा र खाँची राज्यबीच भएको सन्धिका कारण नै यस क्षेत्रको नाम “सन्धिखर्क” रहन गएको ऐतिहासिक मान्यता रहेको छ। यही इतिहासलाई जीवन्त राख्न सालिक स्थापना गरिएको भन्दै स्थानीयले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

सालिक स्थापना भएसँगै सन्धिखर्क आउने आन्तरिक तथा बाह्य पर्यटकले जिल्लाको ऐतिहासिक विरासतबारे प्रत्यक्ष जानकारी लिन सक्ने वातावरण बनेको छ।


स्थानीय सरकारले पनि यस्ता ऐतिहासिक सम्पदाको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमार्फत जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरमा थप स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
बिशेष नोट :
स्थानीय इतिहासका जानकार तथा मौखिक परम्पराअनुसार खाँची राज्यका एघारौँ पुस्ताका राजा बिक्रम शाह (वि.सं. १७२१–१७३४) लाई अर्घा राज्यका राजा अचिन्ताय शाहले सन्धिखर्कमा आपसी हितका विषयमा छलफलका लागि बोलाएको उल्लेख पाइन्छ। सो क्रममा खाँची राज्यतर्फ सेना पठाइएको सूचना बीच बाटोमै पाएपछि राजा बिक्रम शाह फर्किएको र त्यसपछि दुवै पक्षबीच तनाव उत्पन्न भएको बताइन्छ। पछि सधेकोरण क्षेत्रमा दुवै पक्षबीच सन्धि भएपछि उक्त स्थानको नाम क्रमशः सन्धिखर्क रहन गएको स्थानीय ऐतिहासिक मान्यता छ।
यही ऐतिहासिक मान्यताका आधारमा सन्धिखर्कमा स्थापना गरिएको सालिक अर्घा राज्यका राजा अचिन्ताय शाह र खाँची राज्यका राजा बिक्रम शाहको हुनुपर्ने स्थानीय इतिहासका जानकारहरूको भनाइ रहेको छ। यद्यपि यस विषयमा सम्बन्धित निकाय वा आधिकारिक इतिहासविद्बाट औपचारिक पुष्टि हुन बाँकी छ।

| कालखण्ड | अर्घा राज्य | खाँची राज्य | टिप्पणी |
|---|---|---|---|
| वि.सं. १४९० | शिवराज शाह | — | गढवालबाट आई अर्घा राज्य स्थापना गरेका शासक। |
| वि.सं. १४९०–१४९२ | मेघासी राज शाह | — | शिवराज शाहका उत्तराधिकारी, तीन राज्यको आधार तयार गरे। |
| वि.सं. १४९२ देखि | जयन्त राज शाह | वीरेन्द्र राज शाह | मेघासी राज शाहले अर्घा र खाँची राज्य छुट्टाछुट्टै छोरालाई दिएका थिए। |
| १५औँ–१८औँ शताब्दी | अन्य शाह राजाहरू | अन्य शाह राजाहरू | यस अवधिका सबै राजाहरूको प्रमाणित सूची उपलब्ध छैन। |
| वि.सं. १८४३ (सन् १७८६) | गोरखामा विलय | दुर्गा भजन शाह (अन्तिम राजा) | खाँची राज्यका अन्तिम राजा दुर्गा भजन शाह मानिन्छन्। अर्घा र खाँची दुवै गोरखामा गाभिए। |
-(Wikipedia)
तस्बिर : केशव पन्थी, अर्घाखाँची डटकम।






