
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्ना असफलता लुकाउन राज्य अराजकताको प्रायोजक बनेको टिप्पणी गर्दै केही प्रमुख सञ्चारगृहका प्रवेशद्वार र पार्टी सभापति गगन थापाको निवास अगाडि नियोजित रूपमा गाडी तेस्र्याएर बाटो अवरुद्ध गरिएको घटनाप्रति घोर आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले सरकार आफ्नो असफलता लुकाउन अराजकताको प्रायोजक बनेको गम्भीर आरोप लगाए ।

सञ्चारगृह र नेताको निवास घेर्ने गरी गरिएको हर्कतलाई महामन्त्री पौडेलले अत्यन्तै निन्दनीय, अराजक र सस्तो स्टन्टको संज्ञा दिएका छन् । केही दिनअघि मात्र पार्किङको विषयलाई लिएर राज्यको कठोर र अव्यवहारिक रवैयाका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको हृदयविदारक घटना स्मरण गराउँदै महामन्त्री पौडेलले राज्य आफैँ प्रतिशोधमा उत्रिएको टिप्पणी गरे ।


उक्त दुःखद् घटनापछि नागरिक र सञ्चारमाध्यमले उठाएका जायज प्रश्नहरूको जवाफ दिनुको सट्टा राज्य संयन्त्रकै आडमा स्टन्ट प्रदर्शन गरिएको महामन्त्री पौडेलको भनाइ छ। पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् – ‘ल हेर, पार्किङ व्यवस्थित नहुँदा कस्तो हुन्छ भन्ने शैलीमा राज्य संयन्त्रकै आडमा आज जुन स्तरको स्टन्ट प्रदर्शन गरियो, यसले सरकारको नियत र कार्यशैली दुवै उदाङ्गो पारेको छ ।’
मिडियाले राज्यका कमी-कमजोरी औंल्याएर समाचार लेखेकै वा प्रश्न सोधेकै भरमा राज्य आफैँ नागरिक र प्रेससँग सिधै प्रतिशोध लिन सडकमा उत्रिनु सत्ताको चरम दुरुपयोग भएको महामन्त्री पौडेलले सामाजिक सञ्जाल पोष्टमार्फत उल्लेख गरेका छन् । महामन्त्री पौडेलले यसलाई ‘विधिको शासनमाथिको भद्दा मजाक’ भनेका छन् ।

उनले राज्यको दायित्व समस्याको दीर्घकालीन, व्यावहारिक र न्यायोचित समाधान खोज्ने भन्दैआफ्ना असफलता लुकाउन अराजकताको प्रायोजक बन्ने होइन भनेका छन् ।
स्वतन्त्र प्रेस र लोकतान्त्रिक शक्तिहरूलाई यस्ता प्रायोजित अवरोध र हर्कतले तर्साउन सकिन्छ भन्ने भ्रम नपाल्न सुझाव दिंदै महामन्त्री पौडेलले राज्यशक्तिको दुरुपयोग गरेर गरिएको यस्तो गैरजिम्मेवारपूर्ण हर्कतको सम्बन्धित निकायले तत्काल जनतासामु जवाफ दिनुपर्ने बताएका छन् ।





