जुरासिक पार्क फेम अभिनेता साम निलको निधन

काठमाडौँ । हलिउडका चर्चित अभिनेता तथा ‘जुरासिक पार्क’ चलचित्रका मुख्य कलाकार साम निलको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले सोमबार अष्ट्रेलियाको सिड्नीमा परिवारका सदस्यको उपस्थितिमा उनको निधन भएको जानकारी दिएको हो ।

परिवारद्वारा जारी वक्तव्यमा निलको निधन अचानक र अप्रत्याशित रूपमा भएको उल्लेख गरिएको छ । सन् २०२३ मा आक्रामक प्रकारको नन हज्किन लिम्फोमा क्यान्सर पुष्टि भएका निलले उपचारपछि यस वर्ष आफू पूर्ण रूपमा क्यान्सरमुक्त भएको सार्वजनिक गरेका थिए । परिवारले पनि उनको निधन हुँदासम्म उनी क्यान्सरमुक्त रहेको जनाएको छ । साथै उपचारमा संलग्न चिकित्सक र अस्पतालप्रति आभार व्यक्त गर्दै परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ ।

सन् १९४७ मा उत्तरी आयरल्यान्डको ओमाघमा जन्मिएका निल सात वर्षको उमेरमा परिवारसँगै न्युजिल्यान्ड सरेका थिए । उनले पाँच दशकभन्दा लामो अभिनय यात्रामा चलचित्र र टेलिभिजनमा अनेक चर्चित भूमिका निर्वाह गरेका थिए । सन् १९९३ मा प्रदर्शित ‘जुरासिक पार्क’ मा डाक्टर एलन ग्रान्टको भूमिकाले उनलाई विश्वव्यापी लोकप्रियता दिलाएको थियो । सोही वर्ष उनले ‘द पियानो’ चलचित्रमा पनि सम्झनलायक अभिनय गरेका थिए ।

निलले ‘द ओमेन थ्री’ र ‘पिकी ब्लाइन्डर्स’ लगायतका चर्चित निर्माणमा पनि अभिनय गरेका थिए। फरक-फरक चरित्रलाई जीवन्त रूपमा प्रस्तुत गर्ने क्षमताका कारण उनी चलचित्र उद्योगका बहुआयामिक अभिनेतामध्ये एक मानिन्थे ।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले निलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनलाई देशका महान् कलाकारमध्ये एकको संज्ञा दिएका छन् । उनले निलले पाँच दशकभन्दा बढी समयसम्म न्युजिल्यान्डका कथा र सिर्जनालाई विश्वसामु पुर्‍याउँदै त्यहाँको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।