
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई सोमबार विशेष अदालतका सदस्य न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासबाट अनुसन्धानका लागि तीन दिन थुनामा राख्न म्याद थप भएको हो । असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई शुरुमा सात दिनको म्याद दिइएकोमा त्यसपछि असार १५ गते ३ दिनको र असार १८ गते ६ दिनको म्याद थप भएको थियो । त्यस्तै उनको यसअघि असर २४ गते पाँच दिन म्याथ थप भएको थियो ।


२- अविरल वर्षापछि मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुई प्रमुख सडकमार्गमा तोकिएको समयका लागि सवारी सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असार २८ गते रातिदेखि परेको लगातार वर्षाका कारण जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भई यातायात प्रभावित भएको तथा उच्च जोखिमको अवस्था सिर्जना भएकाले सावधानी अपनाउन आग्रह गरेको हो । प्रशासनका अनुसार यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सम्बन्धित निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको समयपछि ती सडकमार्गमा सवारी सञ्चालन नगर्न तथा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ । सूचनाअनुसार हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक अन्तर्गत चौघडाबाट असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन रोकिएको छ । त्यसैगरी हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडक अन्तर्गत हेटौँडाको चौकीटोलबाट असार २९ गते साँझ ५ बजेदेखि असार ३० गते बिहान ५ बजेसम्म सवारी सञ्चालन नगर्न प्रशासनले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न तथा अनावश्यक यात्रा नगर्न सबैमा आग्रह गरेको छ।

३- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विभिन्न स्थापित सञ्चारमाध्यमका कार्यालयबाहिर शंकास्पद रूपमा सवारीसाधन राखी त्रास सिर्जना गरिएको घटनाको निन्दा तथा भर्त्सना गरेका छन् । घिसिङले लोकतन्त्रको मेरुदण्ड मानिने स्वतन्त्र प्रेसलाई डर, धम्की र आतंकको वातावरणमा धकेल्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य–मान्यता, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन् । उनले सञ्चारमाध्यमले डर, धम्की र त्रासमुक्त वातावरणमा स्वतन्त्र रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको पूर्ण प्रत्याभूति हुनुपर्नेमा जोड दिएका छन् । घिसिङले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न तथा सञ्चारमाध्यमलाई निर्भय वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न सक्ने सुनिश्चितता गर्न पनि उनले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
४- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासी समस्या र गणेश नेपालीको आत्मदाह घटनाबारे राजनीतिक दल र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि सवारीसाधन तेर्स्याएको आरोप लगाएका छन् । ४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको वृहत् छलफललाई सम्बोधन गर्दै सभापति थापाले सवारीसाधन राख्न आएका व्यक्तिहरू सरकारी सवारी चढेर फर्किएको जानकारी स्थानीयवासीबाट प्राप्त भएको उल्लेख गर्दै सुकुम्बासी समस्या र गणेश नेपालीको आत्मदाह घटनाबारे राजनीतिक दल र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि राज्यले यस्तो व्यवहार गरेको उनको आरोप थियो । उनले राज्यले नागरिकको आवाज दबाएर अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाउदै नागरिकलाई सत्तामाथि प्रश्न गर्ने अधिकारबाट वञ्चित गर्न नसकिने बताए । उनले बीपी कोइरालाले राणा शासनका बेला नागरिकलाई सत्तामाथि प्रश्न गर्ने अधिकार कसैले खोस्न नसक्ने भन्दै दिएको सन्देश स्मरण गर्दै पार्टी नेताका घर, सञ्चारमाध्यमका कार्यालय र व्यवसायीका व्यापारिक प्रतिष्ठान अगाडि सवारीसाधन तेर्स्याएर नागरिकको निजी सम्पत्ति, आम्दानी र जीवनमा असर पुर्याउने अधिकार राज्यलाई नभएको बताए । सुकुम्बासी समस्यालाई दलीय मुद्दा बनाउने कांग्रेसको नीति नरहेको स्पष्ट पार्दै उनले कानुनले दिएको समाधानको बाटो नअपनाएर सरकारले नै समस्या सिर्जना गरेको बताए । राज्य प्रत्येक नागरिकको अभिभावक र संरक्षक हुनुपर्नेमा मानव जीवनको रक्षाप्रति असंवेदनशील बनेको उनको भनाइ थियो । सभापति थापाले आगामी साउन ६ गते पार्टीको ‘जरा अभियान’ सम्पन्न भएपछि साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन हुने नयाँ अभियान सार्वजनिक गरिने जानकारी दिए । नेपाली कांग्रेस कुनै घटना भएपछि मात्र प्रतिक्रिया दिने दल नभई सम्भावित नागरिक समस्यालाई पहिचान गरी त्यसलाई सार्वजनिक गर्ने अभियानमा सक्रिय रहने उनले बताए । कार्यक्रममा कांग्रेसका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा पाँच किलोमिटर हरित दौड, चित्रकला प्रदर्शनी र संवाद कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनका अनुसार यस वर्ष नेपाली कांग्रेसले जलवायु परिवर्तन र त्यसका प्रभावलाई केन्द्रमा राखेर बीपी स्मृति दिवसका कार्यक्रम सञ्चालन गर्नेछ । शर्माले साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गरिने र प्रतिष्ठानअन्तर्गत रहेका ३० वटा विषयगत समितिको कामबारे पनि जानकारी गराएका थिए । छलफलमा उपत्यकामा रहेका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, उपत्यकाका जिल्ला सभापति तथा प्रतिष्ठानका सदस्यहरूको सहभागिता रहेको थियो ।


५- कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् । उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए । घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिँदा घटनास्थलमै उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलमुडी, कालिकोटबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर उक्त पहिरोमा पुरिएका दुवै जनालाई उद्धार गरी निकालेको थियो । उद्धार गर्दा उनीहरूको मृत्यु भइसकेको थियो । पहिरोका कारण घट्टको आधा भागसमेत पुरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

६- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरूलाई नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको उल्लेख गर्दै त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए । पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने उनले बताए । सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवद्र्धनमा काउन्सिल सक्रिय रहने बताए । त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी–कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
७- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल पुनःबहाली भएकी छन् । प्रबन्ध निर्देशक अर्यालमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ साल असार २६ गतेदेखि उनको निलम्बन फुकुवा गरी पुनः नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा बहाली गरिएको हो । पदबहाली कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई सम्बोधन गर्दै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न आग्रह गरिन् । उनले विगतमा कर्मचारीमाथि लागेको आरोप र भ्रमको अन्त्य भई अन्ततः सत्य स्थापित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई निरन्तर सहयोग गर्ने सम्पूर्ण टोलीप्रति धन्यवाद व्यक्त गरिन् । सम्बोधनका क्रममा उनले कम्पनीमा आवश्यक सुधारका कामलाई अघि बढाउँदै आन्तरिक व्यवस्थापनसँगै बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल सरकारको नीति तथा निर्देशनअनुसार निष्पक्ष र जिम्मेवार ढङ्गले काम गर्दै नेपाल टेलिकमको जनविश्वास र बजार साख अझ बलियो बनाउने तथा सेवा प्रवाहलाई थप ग्राहक मैत्री बनाउने उनको भनाइ थियो । नेपाल टेलिकमले आफ्ना ग्राहक, सरोकारवाला र आम नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउँदै कानुनी राज्यको मर्यादा कायम गर्दै देशको दूरसञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
८- नेकपा एमालेले विभिन्न सञ्चारगृहका कार्यालय अगाडि शंकास्पद रूपमा सवारी साधन राखेर पत्रकार तथा सञ्चारकर्मीलाई त्रसित बनाइएको भन्दै आपत्ति जनाएको छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सञ्चारकर्मीलाई आतंकित पार्ने उद्देश्यले कार्यालय अगाडि गाडी राखिएको भन्दै घटनाको विरोध गरेका हुन् । उनले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मुख्य प्रवेशद्वारमै शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी पत्रकार तथा कर्मचारीको आवतजावतमा अवरोध सिर्जना गरिएको बताएका छन् । सोमबार बिहानदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारको आवतजावत रोक्ने प्रयास गरिएको छ । एमालेले यस्तो कार्यलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको जनाएको छ। स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएको उसको भनाइ छ । सञ्चारगृह र पत्रकारलाई भयभीत बनाउने तथा काममा अवरोध पुर्याउने उक्त घटनाको एमालेले निन्दा र भर्त्सना गरेको छ । यस विषयमा नेपाल पत्रकार महासंघले अघि सारेका मागप्रति पूर्ण समर्थन रहेको पनि एमालेले जनाएको छ ।
९- नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा पुगेर रोकिएको छ । आज ३६८ कम्पनिका ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार ११६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रका शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सामुदायिक लघुवित्तको शेयर ५.३७ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ५.३१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ११.२८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी डिभेन्चर ८७/८८ को ४८ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने एनआइसी एशिया डिभेन्चर ८५/८६ को ४६ करोड ६५ लाख बराबरको कारोबार भएको छ ।

१०- नेकपा एमालेका महासचिव शंकर पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश परिवर्तन गर्ने दाबी गर्नेहरूको कार्यशैली नै विरोधाभासपूर्ण देखिएकाले त्यस्तो प्रवृत्तिबाट देश रूपान्तरण सम्भव नरहेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले देशको दीर्घकालीन विकासका लागि स्पष्ट वैचारिक आधार, योजनाबद्ध नेतृत्व र राजनीतिक इमानदारिता अपरिहार्य रहेको बताएका हुन् । उनले भनेका छन्- ‘चर्का भाषण र सस्तो लोकप्रियता (पपुलिजम) को भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको छ ।’ वास्तवमा देश बदल्नका लागि स्पष्ट वैचारिक जग, सुस्पष्ट योजनासहितको गन्तव्य र त्यसप्रतिको निरन्तर समर्पण आवश्यक पर्दछ ।’ पोखरेलले देशका विकृति, विसङ्गति र बेथिति अन्त्य गर्ने जिम्मेवारी आफैंभित्रका कमजोरी सुधार्न नसकेका नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको अनुभूति हुन थालेको उल्लेख गरेका छन् । उनले पपुलिजम र सामाजिक सञ्जालको प्रभावका कारण जनअसन्तोषलाई राजनीतिक दल र राज्यविरुद्ध प्रयोग गरिएको दाबी गरेका छन्। उनले विगतमा देशमा कुनै विकास नै नभएको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै पूर्वाधार र सूचना प्रविधिको विस्तारका कारण नागरिकको अपेक्षा बढे पनि त्यसअनुसार वैधानिक आय वृद्धि हुन नसक्दा समस्या उत्पन्न भएको बताएका छन्। अपेक्षा र आम्दानीबीचको यही असन्तुलनले समाजमा भ्रष्टाचार, अपराध, सामाजिक अराजकता, पैतृक सम्पत्तिको क्षयीकरण र वैदेशिक पलायनजस्ता समस्या बढाएको उनको भनाइ छ। पोखरेलले यस्ता संरचनागत समस्याको समाधान सस्तो लोकप्रियता वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने स्पष्ट पार्दै वैचारिक स्पष्टता, दूरदृष्टि र राजनीतिक इमानदारिताका आधारमा मात्रै देशलाई सही दिशामा अघि बढाउन सकिने बताएका छन्।
११- काठमाडौंका तीन सञ्चारगृहको कार्यालय प्रवेशद्वारमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध पुर्याइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सोमबार बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा समस्या सिर्जना गरिएको उल्लेख गरिएको छ । महासंघले यस्तो कार्यले सञ्चारमाध्यमको नियमित कामकाजमा अवरोध र पत्रकारमा त्रासको वातावरण सिर्जना गरेको जनाएको छ । महासंघले सञ्चारमाध्यम र पत्रकारको संवैधानिक तथा पेशागत अधिकारमाथि हस्तक्षेप गर्ने यस घटनालाई निन्दनीय र रहस्यमय भन्दै तत्काल निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै, सञ्चारगृहको सुरक्षामा आवश्यक संवेदनशीलता अपनाउन पनि आग्रह गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्मासहितको टोलीले अनलाइनखबरलगायत प्रभावित सञ्चारगृहमा पुगेर घटनास्थलको निरीक्षण गरेको थियो । अध्यक्ष शर्माले घटना शंकास्पद र नियोजित प्रकृतिको देखिएको बताउँदै पत्रकार र सञ्चारगृहको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरिन् । उक्त घटनापछि तीनवटै सञ्चारगृहमा प्रहरी पुगेर गाडीधनीको खोजी सुरु गरेको छ । यद्यपि गाडी कसले र किन पार्किङ गरेको हो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।
१२- होर्मुज जलडमरूमध्य इरान र ओमानको बीचमा अवस्थित छ । यसको उत्तरी भाग इरानतर्फ पर्छ भने दक्षिणी भाग ओमानतर्फ पर्छ । सबैभन्दा साँघुरो स्थानमा यसको चौडाइ २१ समुद्री माइल (करिब ३९ किलोमिटर) मात्र रहेको छ । सुरुवातमा दुवै देशको समुद्री क्षेत्र सीमा ३ समुद्री माइलसम्म मात्र मानिन्थ्यो । तर पछि अन्तर्राष्ट्रिय समुद्री कानुनमा भएको परिवर्तनपछि इरानले सन् १९५९ मा र ओमानले सन् १९७२ मा आफ्नो समुद्री क्षेत्रको सीमा बढाएर १२-१२ समुद्री माइल (करिब २२-२२ किलोमिटर) पुर्याए । यो निर्णयपछि होर्मुज जलडमरूमध्यको सबैभन्दा साँघुरो भाग पूर्ण रूपमा इरान र ओमानको समुद्री क्षेत्रभित्र पर्न गयो । यद्यपि अन्तर्राष्ट्रिय समुद्री आवागमन सहज बनाउन दुवै तर्फबाट २-२ समुद्री माइल चौडा पारवहन मार्ग बनाइएको थियो । युद्ध सुरु भएपछि इरानले होर्मुज जलडमरूमध्य आफ्नो र ओमानको समुद्री क्षेत्रमा पर्ने भएकाले यहाँको सुरक्षा व्यवस्था र आवागमनसम्बन्धी निर्णय गर्ने अधिकार आफूमा रहेको दाबी गरेको छ । इरानले मे ४ मा होर्मुजको नयाँ नक्सा सार्वजनिक गर्दै जलडमरूमध्यको साँघुरो भागमा आफ्नो नियन्त्रण देखाएको थियो । तर अमेरिकाको भनाइ भने फरक छ । अमेरिकाले होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय समुद्री मार्ग भएको भन्दै कुनै पनि देशले यहाँबाट आवतजावत गर्ने व्यापारिक जहाज रोक्न नपाउने बताउँदै आएको छ । अमेरिकाले यस क्षेत्रमा आफ्ना लडाकु विमानसमेत तैनाथ गरेको छ । अहिले होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर इरान र अमेरिकाबीच फरक-फरक दाबी देखिएको छ । इरानले विदेशी सैन्य हस्तक्षेप स्वीकार नगर्ने बताएको छ भने अमेरिकाले जलडमरूमध्य विश्व व्यापारका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मार्ग भएकाले यसको सुरक्षा आफ्नो प्राथमिकता रहेको जनाएको छ ।
१३- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो ले सन् २०३० को पुरुष विश्वकपमा सहभागी टोलीको संख्या ६४ पुर्याउने प्रस्तावमाथि गम्भीर रूपमा छलफल हुने संकेत दिएका छन् । स्विस सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले सन् २०२६ को विश्वकप सम्पन्न भएपछि फिफाका सम्बन्धित समितिहरूमा यस विषयमा औपचारिक छलफल हुने बताएका हुन् । उनले विश्वका प्रत्येक देशले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ, किनकि त्यसले साना राष्ट्रलाई पनि आफ्नो फुटबल स्तर सुधार्न र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने बताएका छन् । इन्फान्टिनोले विश्वभरका टोलीहरूको स्तर निरन्तर उकासिँदै गएको उल्लेख गर्दै साना देशलाई विश्वकपमा सहभागी हुने अवसर नदिइए उनीहरूको विकासको गति सुस्त हुन सक्ने धारणा व्यक्त गरेका छन् । सन् २०२६ को विश्वकप पहिलो पटक ४८ टोलीको सहभागितामा आयोजना भएको छ र अब प्रतियोगिता अन्तरिम चरणमा पुगेको छ । यसअघि सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोलीले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था थियो । फिफा अध्यक्षले ३२ बाट ४८ टोलीमा गरिएको विस्तारलाई पूर्ण रूपमा सफल भएको मूल्याङ्कन गरेका छन् । उनका अनुसार यस निर्णयले विश्व फुटबलको विकासमा सकारात्मक प्रभाव पारेको छ । यदि भविष्यमा ६४ टोलीको ढाँचा लागू गरिए अझ धेरै देशले विश्वकपमा सहभागिताको अवसर पाउनेछन् । यद्यपि त्यसका लागि खेल संख्या, आयोजना व्यवस्थापन र अन्य प्राविधिक पक्षमा चुनौती पनि थपिने उनले स्वीकार गरेका छन् । सन् २०३० को विश्वकप इतिहासकै विशेष संस्करण हुने अपेक्षा गरिएको छ । प्रतियोगिता तीन महादेशका छ देशमा आयोजना हुनेछ । उद्घाटन विशेष खेल उरुग्वेमा हुनेछ भने अर्जेन्टिना, पाराग्वे, मोरक्को, पोर्चुगल र स्पेन पनि सह-आयोजक रहनेछन् । सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको उरुग्वेले प्रतियोगिताको शताब्दी वर्षका अवसरमा विशेष उद्घाटन खेलको आयोजना गर्नेछ ।

१४- जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापक्राउ पुर्जी पक्राउ गरिएको भन्दै गृहमन्त्री सुदन गुरुङसँग प्रश्न सोधेका छन् । अन्सारीले गत असार २७ गते शनिबार साँझ करिब ५ बजे १०-१२ जना प्रहरीले आफूलाई लछारपछार गर्दै कुटपिट गरेको र गम्भीर घाइते बनाएको दाबी गरेका छन् । हाल आफ्नो उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको उनले बताएका छन् । उनले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिइएको र पक्राउका क्रममा कुनै पुर्जीसमेत नदेखाइएको बताएका छन्। पक्राउको कानुनी आधारबारे समेत स्पष्ट जानकारी नदिइएको उनको भनाइ छ । उनले भनेका छन्- ‘मेरो पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्टता छैन। गृहमन्त्री वा प्रहरी प्रमुखले यी सबै गैरकानुनी कारबाहीहरू किन लक्षित रूपमा मविरुद्ध गरिए भन्ने स्पष्ट पार्न सक्नुहुन्छ ? उनले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षाका लागि सम्बन्धित सरकारी निकाय, संघीय संसद्का सदस्यहरू, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय र मानव अधिकार रक्षकहरूलाई पहल गर्न आग्रह गरेका छन्।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको २८ सयले घटेर तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको सय रुपैयाँले घटेर तोलाको ४३७५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४४७५ मा कारोबार भएको थियो ।
१६- राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो तथ्याङ्क स्थानान्तरण (डेटा माइग्रेसन) सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले सोमबारदेखि करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरी सेवा सुरु गरिएको जानकारी दिएको हो । विभागले यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा केही प्राविधिक समस्या, प्रणाली सुस्त चल्ने अवस्था तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक भएको भन्दै यी समस्यालाई समाधान गर्न विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएको जनाएको छ । विभागले देखिएका समस्या छिटो समाधान गर्दै दीर्घकालीन रूपमा प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको छ । नयाँ प्रणाली स्थिर र प्रभावकारी बनाउन सुरुआती चरणमा राहदानी अत्यावश्यक परेका सेवाग्राहीले मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ । यसबाट प्रणालीमा पर्ने चाप कम भई सेवा थप व्यवस्थित हुने विभागको विश्वास छ । यस्तै, राहदानी सेवासम्बन्धी सूचना प्राप्त गर्दा विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना तथा समाचारलाई मात्र आधार बनाउन पनि विभागले सबै सेवाग्राहीलाई आग्रह गरेको छ । विभागले नागरिकको विश्वास, धैर्यता र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि चुस्त, छरितो र विश्वसनीय राहदानी सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
१७- इटालीका यानिक सिनरले जर्मनीका अलेक्जेन्डर ज्भेरेभलाई पराजित गर्दै लगातार दोस्रो पटक विम्बल्डन पुरुष एकलको उपाधि जितेका छन् । गएराती सम्पन्न फाइनलमा विश्व नम्बर एक सिनरले निकै प्रतिस्पर्धात्मक खेलमा ज्भेरेभलाई ६–७ (७–९), ७–६ (७–२), ६–३ र ६–४ को सेटमा हराउँदै उपाधि आफ्नो नाम गरेका हुन् । पहिलो सेट गुमाएका सिनरले त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेका थिए । तीन घण्टा ४६ मिनेटसम्म चलेको यो खेल सिनरको करिअरकै दोस्रो सबैभन्दा लामो जित बनेको छ । गत महिना फ्रेन्च खुला प्रतियोगितामा पहिलो पटक ग्रान्ड स्लाम उपाधि जितेका दोस्रो वरीयताका ज्भेरेभले फाइनलमा आक्रामक र आत्मविश्वासपूर्ण प्रदर्शन गरे पनि सिनरलाई रोक्न सकेनन् । दुवै खेलाडीबीच उच्चस्तरीय प्रतिस्पर्धा भएको थियो । योसँगै सिनरले आफ्नो करिअरको पाँचौँ ग्रान्ड स्लाम उपाधि जितेका छन् । सन् २०२६ मा उनले जितेको यो पहिलो ठूलो उपाधि पनि हो । उपाधिपछि सिनरले फाइनल निकै उत्कृष्ट भएको बताउँदै दुवै खेलाडीले उच्चस्तरको प्रदर्शन गरेको प्रतिक्रिया दिए। उनले जितसँगै खेलको स्तरबाट पनि आफू निकै खुसी भएको बताए । खेल हेर्न बेलायतका युवराज तथा युवरानीका साथै हलिउड कलाकार निकोल किडम्यान र बेन स्टिलर पनि उपस्थित थिए । यो जितसँगै सिनरले ज्भेरेभविरुद्ध लगातार १०औँ जित दर्ता गरेका छन् । साथै सन् १९६८ मा खुला युग सुरु भएयता लगातार दुई पटक विम्बल्डन पुरुष एकल उपाधि जोगाउने दशौँ खेलाडी बनेका छन् ।
१८- थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका धेरैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अधिकारीहरूका अनुसार आगलागी भएको जानकारी राति अबेर प्राप्त भएको थियो । उत्तरी बैंककस्थित पबको मुख्य प्रवेशद्वारबाट आगोका ठूला लप्काहरू निस्किएको थियो । आगलागीका कारण आकाशभरि बाक्लो कालो धुवाँ फैलिएको थियो । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नवीरकुलले घटनास्थलमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगलागीमा २७ जनाको मृत्यु भएको पुष्टि गरे, घटनामा कम्तिमा १८ जना घाइते भएका छन् । उनका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको उनले बताए । दमकलकर्मीहरूले करिब ३० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए । घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा पबभित्रका मेच, कुर्सी र अन्य संरचना पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको देखिएको छ । अधिकारीहरूले मृतक र घाइतेहरूको पहिचान गर्ने काम जारी राखेका छन् भने घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन् । थाइल्यान्डमा यसअघि पनि यस्ता दुःखद आगलागीका घटना भएका छन्। सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा रहेको एक सङ्गीत पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २००९ को जनवरी १ मा बैंककको एक रात्रिकालीन मनोरञ्जनस्थलमा नयाँ वर्षको समारोहका क्रममा आगलागी हुँदा ६६ जनाले ज्यान गुमाएका थिए भने २०० भन्दा बढी घाइते भएका थिए। उक्त घटनाको कारण भित्री क्षेत्रमा गरिएको आतसबाजीलाई मानिएको थियो।
१९- प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच आइतबार छलफल भएको छ । हालका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन, पदाधिकारी, केन्द्रीय मनोनयनसम्मको विषयमा उनीहरूका बीच कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री बालेन स्वयम् सभापति लामिछानेलाई भेट्न उनको बुढानिलकण्ठस्थित निवास पुगेका थिए । उनीहरूबीचमा करिब चार घण्टा छलफल भएको थियो । गणेश नेपालीहरूको आत्मदाहदेखि सुकुम्बासीहरूको समस्याले सडकदेखि सदनमै सरकारको तीव्र आलोचना र विरोध भइरहेको बेला शिर्ष नेता बीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ छ । यस विषयमा प्रधानमन्त्री शाह र सभापति लामिछानेले अहिलेसम्म कुनै सार्बजनिक प्रतिक्रिया दिएका छैनन् । भेटमा पार्टी सभापति रवि लामिछानेले सुकुम्बासी समस्याको तत्काल समाधान गर्न र गणेश नेपालीको घटना बारे तत्काल कदम चाल्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताइएको छ । जवाफमा प्रधानमन्त्री शाहले सरकारले यी समस्याको समाधान गर्न काम गरिरहेको र छिट्टै नतिजा आउने बताएका थिए । त्यस्तै उनले संसद मार्फत सरकारका कामको जानकारी गराउने र सरकारलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेका थिए । साथै भेटमा पार्टीका पदाधिकारी मनोनयन गर्ने विषयमा पनि छलफल भएको थियो । विधानमा वरिष्ठ नेता त प्रधानमन्त्री बालेनका लागि राखिएको हो । तर, विधानमा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था राखिएपछि आन्तरिक रुपमा विवाद बढेको छ । विधानमा सम्पूर्ण अधिकार सभापतिका केन्द्रित गरिएको, जसमा संसदीय दलको नेतासम्मलाई पदाधिकारीले फिर्ता बोलाउन सक्ने व्यवस्था राखिएपछि बालेन पक्ष असन्तुष्ट बनेको छ ।
२०- त्रिपुरेश्वरमा पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । आइतबार साँझ जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गृहमन्त्री सुधन गुरूङले नेपालीलाई नागरिकताको प्रमाणपत्र दिएका हुन् । उनीहरूको चार वर्षअघि विवाह भए पनि अहिलेसम्म नागरिकता नबनेको र विवाह दर्ता पनि नभएको पाइएपछि विशेष अवस्था भएको भन्दै काठमाडौँबाट एकमायालाई नागरिकता दिइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिएका छन् । साथै उनको विवाह दर्ता पनि गरिएको पौडेलले बताएका छन् । अब उनको राष्ट्रिय परिचय पत्र पनि बनाइदिने उनले बताए । राहदानी विभाग अगाडि आफैमाथि पेट्रोल खन्याएर आगो लगाएका गणेशको शुक्रबार उपचार क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि आइतबार सरकार पक्ष र परिवारबीच ९ बुँदे सहमति भएको छ ।




