
नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चिकित्सकहरु लामो समयदेखि उचित पारिश्रमिक, सम्मानजनक श्रम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको उल्लेख गर्दै उनीहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले नेपाल मेडिकल काउन्सिलको तथ्यांक उद्धृत गर्दै नेपालमा वार्षिक रूपमा दर्ता हुने चिकित्सकको संख्याभन्दा बढी चिकित्सकले विदेश जान आवश्यक कागजात बनाउने गरेको पाइएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । उहाँले न्युन पारिश्रमिक, लामो तथा अमानवीय कार्यघण्टा, बिदाको अभाव, रोजगारीको अनिश्चितता र श्रम शोषणका कारण चिकित्सक बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । एकातिर सरकारी अस्पतालमा बिरामीले सेवा लिन लामो समय कुर्नुपर्ने र अर्कोतर्फ विशेषज्ञ चिकित्सकले रोजगारी नपाउने अवस्था रहेको भन्दै उहाँले सरकारले जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘संकटको समयमा राज्यको शक्ति लाठीमा होइन संयम, संवाद र अभिभावकत्वमा हुनुपर्दछ । तर यहाँ कस्तो देखियो भने माईतीघर मण्डलामा दुई वटा समूह अहिले पनि आन्दोलनमा बसिरहनुभएको छ । माईतीघरमा आज पनि चिकित्सकहरु उचित पारिश्रमिक, सम्मानजनक श्रम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा हुनुहुन्छ । उहाँहरु लामो समयदेखि त्यहाँ बसिराख्नु भएको छ । सरकारको त्यसतर्फ ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु ।

नेपाल मेडिकल काउन्सिलले नेपालमा वर्षेनी दर्ता हुने चिकित्सकको संख्याभन्दा धेरै चिकित्सकले विदेश जान आवश्यक कागजात बनाउने गरेको चिन्ताजनक अवस्था पनि सार्वजनिक गरेको छ । चिकित्सकहरु देश छोड्न चाहनुको कारण केवल विदेशको आकर्षण होइन, न्युन पारिश्रमिक र लामो र अमानवीय कार्य घण्टा, विदाको अभाव, रोजगारीको अनिश्चितता तथा श्रम शोषण प्रमुख कारण हो भनेर उहाँले बताउनुभएको छ । साढे चार वर्षको कठिन अध्ययन पूरा गरेका इन्टर्न चिकित्सकलाई केही निजी मेडिकल कलेजले अत्यन्त न्यून भत्ता दिएर पूर्णकालीन काम गराइरहेका पनि छन् भन्ने उहाँले भन्नुभएको छ ।
चिकित्सकले लगातार ३६ देखि ६० घण्टासम्म ड्यूटी गर्नु पर्ने अवस्था पनि रहेको छ । एकातिर बिरामी सरकारी अस्पतालमा सेवा लिन लामो लाइन बस्न बाध्य हुनुभएको छ, अर्कोतिर विशेषज्ञ चिकित्सकले काम पाउन सकिरहेका छैनन् । जनशक्तिको अभाव मात्र होइन व्यवस्थापन र पूर्वाधारको असफलता पनि हो । त्यसकारण राज्यले यी सबै कुराको कार्यान्वयको लागि म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले सुकुम्बासी नागरिकलाई उचित वैकल्पिक व्यवस्थापन नगरि होल्डिङ सेन्टरबाट हटाउन नमिल्ने धारणा पनि राख्नुभयो ।




