
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ। बैंकले वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेन्चर २०८३’ को बाँडफाँड असार २९ गते सम्पन्न गरेको जनाएको छ।
बैंकले गत असार १६ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका दरले कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। यसबाट बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको दीर्घकालीन स्रोत परिचालन गर्ने लक्ष्य राखेको थियो।

बाँडफाँडपछि लगानीकर्ताले आफूलाई ऋणपत्र परेको वा नपरेको विवरण सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित वेबसाइट तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइटमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ।
यस्तै, बाँडफाँडमा समावेश हुन नसकेका आवेदकको आवेदनबापत रोक्का गरिएको रकम सम्बन्धित बैंक खातामा फुकुवा गरिने जानकारी बिक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको छ। बैंकले जारी गरेको उक्त ऋणपत्र १० वर्षसम्म लगानीकर्तालाई वार्षिक ६.२५ प्रतिशतका दरले प्रतिफल प्रदान गर्नेछ। दीर्घकालीन लगानीका विकल्प खोजिरहेका लगानीकर्ताका लागि यो ऋणपत्र आकर्षक साधनका रूपमा हेरिएको छ।





