‘कोट डी’ आइभोरमा बस नदीमा खस्दा २४ जनाको मृत्यु, ३६ घाइते

पश्चिम अफ्रिकी मुलुक कोट डी’ आइभोर (आइभोरी कोस्ट) को उत्तर–पश्चिमी क्षेत्रमा सोमवार एउटा अन्तरशहर चल्ने यात्रुवाहक बस नदीमा खस्दा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन् । यातायात तथा समुन्द्री मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ओडिएनबाट यामुसुक्रोतर्फ जाँदै गरेको उक्त बस तुबा–बियान्कुमा सडकखण्डमा पर्ने बाफिङ नदीमा खसेको हो ।

६९ जना यात्रु र चालक दलका सदस्य सवार रहेको उक्त बस सडकबाट अनियन्त्रित भई नदीमा खसेको बताइएको छ । दुर्घटनाको ठोस कारण अहिलेसम्म खुल्न सकेको छैन ।

मन्त्रालयका अनुसार बेपत्ता भएका यात्रुहरूको खोजी र उद्धारका लागि घटनास्थलमा टोलीहरू परिचालन गरिएको छ । हाल जारी वर्षायामका कारण सडकमा जोखिम बढ्ने भन्दै मन्त्रालयले सम्पूर्ण सडक प्रयोगकर्ताहरूलाई उच्च शतर्कता अपनाउन र ट्राफिक नियमहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।