इजिप्ट र युएईका राष्ट्रपति बीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान बीच इजिप्टको न्यू अलामीन सिटीमा भेटवार्ता भएको छ । सो अवसरमा दुई नेताहरूले द्विपक्षीय सम्बन्धका साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नुभएको छ ।

इजिप्टको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार भेटवार्तामा विशेष गरी मध्यपूर्वको पछिल्लो विकासक्रम र क्षेत्रीय तनाव थप बढ्न नदिने प्रयासका बारेमा गम्भीर विचारविमर्श भएको थियो ।

दुवै पक्षले यस क्षेत्रले सामना गरिरहेका वर्तमान चुनौतीहरूलाई मध्यनजर गर्दै निकट परामर्श, समन्वय र संयुक्त कार्यलाई निरन्तरता दिने महत्वमा जोड दिएका छन् । यो भेटवार्ता मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच भएको हो । विशेष गरी हर्मुज जलडमरूमध्यमा जलयान सञ्चालनलाई लिएर संयुक्त राज्य अमेरिका र इरानबीच पुनः शुरु भएको तनावपूर्ण गतिविधिले चिन्ता बढाएको छ ।

गत जुन महिनाको मध्यतिर दुई देशबीच एउटा समझदारी पत्रमा हस्ताक्षर भएपनि आईतवार पुनः आक्रमणका घटनाहरू सार्वजनिक भएका छन् । क्षेत्रीय सुरक्षा र स्थायित्व कायम गर्न इजिप्ट र युएईले निर्वाह गर्दै आएको भूमिका र उनीहरूबीचको बढ्दो रणनीतिक साझेदारीलाई यस भेटले थप बल पु¥याएको विश्लेषण गरिएको छ ।