साउदी अरबको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीद्वारा क्षेप्यास्त्र र ड्रोन प्रहार

यमनको हुथी विद्रोही समूहले साउदी अरबको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित आभा अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ । साना अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणको बदलास्वरुप यो कारबाही गरिएको हुथी समूहले सोमबार जनाएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारियाले विद्रोही नियन्त्रित ‘अल–मसिराह’ टेलिभिजनमार्फत सार्वजनिक गरेको एक वक्तव्यमा उक्त सैन्य कारबाहीमा कयौँ ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको उल्लेख गरेका छन् । प्रवक्ता सारियाले उक्त अपरेशनले आफ्नो लक्ष्य सफलतापूर्वक हासिल गरेको दाबी गरे पनि सो आक्रमणबाट भएको क्षति वा मानवीय हताहतीबारे विस्तृत विवरण भने उपलब्ध गराएका छैनन् ।

हुथी समूहले साना विमानस्थलमा लगाइएको उडान प्रतिवन्ध र नाकाबन्दी नहटेसम्म साउदी हवाई क्षेत्र प्रयोग नगर्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकहरूलाई चेतावनी समेत दिएको छ । पछिल्लो सैन्य तनावको पूर्ण जिम्मेवार साउदी अरब नै हुने बताउँदै प्रवक्ता सारियाले साना विमानस्थलमाथिको नाकाबन्दी अन्त्य गर्न थप कडा कदम चाल्ने चेतावनी दिए ।

यता, साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ताले हुथी समूहद्वारा प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई साउदी वायु रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको जानकारी दिएका छन् ।

यो घटनाक्रम सोमवार बिहान तेहरानबाट हुथी प्रतिनिधिमण्डल बोकेर सानाका लागि उडेको इरानी यात्रुवाहक विमानलाई लिएर उत्पन्न विवादपछि शुरु भएको हो । साउदी समर्थित यमनी सरकारले हुथी नियन्त्रित सानामा सिधा उडान भरेर इरानले यमनको सार्वभौमसत्ता उल्लंघन गरेको आरोप लगाएको छ । यमनी सरकारले यस्ता उडानहरू सैन्य कर्मचारी र प्राविधिक विशेषज्ञ ओसार्न प्रयोग हुन सक्ने आशंका व्यक्त गरेको छ, जसलाई हुथी समूहले अस्वीकार गर्दै आएको छ ।
इरानी विमान साना विमानस्थलमा अवतरण गर्न लाग्दा धावनमार्गमा हवाई आक्रमण भएपछि विमानलाई रेड सी बन्दरगाह सहर होडैडास्थित विमानस्थलतर्फ मोडिएको थियो । हुथी समूहले साउदी युद्धविमानले धावनमार्गमा आक्रमण गरेको दाबी गरेको छ भने यमनी सरकार पक्षधर अधिकारीहरूले इरानी विमानलाई अवतरण गर्न नदिन धावनमार्ग लक्षित प्रहार गरिएको स्वीकार गरेका छन् ।

सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीहरूले राजधानी साना कब्जा गरेपछि यमन गृहयुद्धमा फसेको हो । अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त यमनी सरकारलाई पुनः स्थापित गर्न साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ देखि सैन्य हस्तक्षेप शुरु गरेको थियो ।