आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१-  परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतका रक्षा राज्यमन्त्री ड्यान जार्भिससँग भर्चुअल बैठक गर्दै बेलायती गोर्खासम्बन्धी लामो समयदेखि समाधान हुन नसकेका मागहरू छिट्टै सम्बोधन गर्न आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार भएको बैठकमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनीहरूको जायज माग दुवै पक्षलाई स्वीकार्य हुने गरी यथाशीघ्र समाधान गर्नुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले बेलायती गोर्खाले पुर्‍याएको योगदान र गरेको त्यागलाई सम्मान गर्दै उनीहरूको मागलाई मानवीय दृष्टिकोणबाट सम्बोधन गर्न बेलायती सरकारसँग आग्रह गरेका थिए । साथै, यस विषयको समाधानका लागि नेपाल सरकार सहकार्य र रचनात्मक भूमिकामा रहन तयार रहेको पनि उनले बताए । जवाफमा बेलायतका रक्षा राज्यमन्त्री जार्भिसले बेलायती गोर्खा बेलायती सेनाको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै यो विषयलाई बेलायत सरकारले उच्च प्राथमिकतामा राखेको र सकेसम्म चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बैठकमा परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका प्रमुख गणेशप्रसाद ढकालसहित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो । उक्त बैठक काठमाडौँस्थित बेलायती दूतावासको समन्वय र सहजीकरणमा सम्पन्न भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२-  नेपाल आयल निगमले बुधबारदेखि देशभर पुनः १४.२ किलोग्राम तौलको खाना पकाउने ग्यास सिलिन्डर बिक्री वितरण सुरु गरेको जनाएको छ । निगमका अनुसार भारतका विभिन्न ग्यास भर्ने केन्द्र र प्रशोधन केन्द्रबाट ग्यास आपूर्तिमा सुधार आएपछि तथा उपभोक्ताबाट १४.२ किलोग्रामको सिलिन्डरको माग बढेकाले बुधबारदेखि साविककै तौलको ग्यास बिक्री गर्ने व्यवस्था गरिएको हो । यस सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ कायम गरिएको  निगमले जनाएको छ । यसअघि आपूर्ति व्यवस्थापन सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलोग्राम ग्यास भरेर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो । निगमले केही समयसम्म बजारमा ७.१ किलोग्राम र १४.२ किलोग्राम दुवै प्रकारका सिलिन्डर उपलब्ध हुन सक्ने जनाएको छ । त्यसैले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्रै खरिद गर्न आग्रह गरिएको छ । निगमका अनुसार हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरिएको छ ।

३- नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजार विकास तथा सुधारका प्राथमिकता सार्वजनिक गर्दै लगानीकर्ता संरक्षण, बजारको पारदर्शिता र नियामकीय व्यवस्थालाई थप प्रभावकारी बनाउने घोषणा गरेको छ । बोर्डले धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानमा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनले लगायतका सामाजिक सञ्जालमार्फत बजारलाई प्रभावित पार्ने गतिविधि, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार तथा वित्तीय ठगीविरुद्ध कडा नियामकीय निगरानी गरिने जनाएको छ । बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउन नीतिगत सुधार गर्दै कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्थाको वस्तुगत मूल्याङ्कनपछि मात्र अनुमति दिने व्यवस्था लागू गर्ने जनाएको छ । मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी भइसकेको उल्लेख गर्दै बोर्डले त्यसको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ र धितोपत्र दलाल व्यवसायीबीच समन्वय गरी यथाशीघ्र सञ्चालन व्यवस्था मिलाइने जनाएको छ । बोर्डका आठ प्राथमिकता:  १- धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझ सम्बन्धमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाईनेछ,  २- लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिई Finfluencers हरूबाट धितोपत्र बजारलाई प्रभावित पार्ने गरी सूचना प्रवाह भएको विषय तथा अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत हुने बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगी विरुद्धका कार्यहरू उपर प्रभावकारी नियामकीय निगरानी गरिनेछ,

३- सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउनका लागि सरोकारवाला पक्षहरूबाट प्राप्त सुझाव समेतलाई समेटी नीतिगत व्यवस्थामा सुधार गरी कम्पनीको वित्तीय एवम् व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरी अनुमति दिने व्यवस्था मिलाईनेछ,  ४- बोर्डबाट मार्जिन कारोबार सम्बन्धी निर्देशिका जारी भैसकेकोमा उक्त कारोबारको कार्यान्वयनको अवस्था तथा सो सञ्चालनमा केही सीमितता देखिएमा बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लिरिङ्ग लि. तथा धितोपत्र दलाल व्यवसायी बीच समन्वय कायम गरी यथाशीघ्र सञ्चालन व्यवस्था मिलाईनेछ,  ५- सूचीकरण पश्चातको कारोवारमा हुने धितोपत्रको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि र बाँडफाँट सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिनेछ, लगानीकर्ताहरूको कारोबार लागतमा कमी ल्याउने गरी प्राथमिक तथा दोस्रो बजार शूल्कमा पुनरावलोकन गरिनेछ,  ६- नेप्से सूचकाङ्कलाई All Equity Index को रूपमा कायम राखी कारोवारयोग्य शेयरहरू (Free Float Shares) को आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई Benchmark सूचकाङ्क गणना गर्ने व्यवस्था मिलाईनेछ,  ७- सामाजिक सञ्चालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) अघि संगठित संस्थाहरूबाट हुने पूँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहारलाई नियमन व्यवस्था मिलाईनेछ । ८- सूचीकरणपछि धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि तथा बाँडफाँटसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ। साथै, लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारका शुल्कसमेत पुनरावलोकन गरिने बोर्डले जनाएको छ । बोर्डले यी सुधारसँगै नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने लक्ष्य राखेको जनाएको छ । यसका लागि आगामी दशकको नेपालको पूँजी बजार विकास मार्गचित्र- २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति र कार्यान्वयन कार्ययोजना बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिने जानकारी दिइएको छ ।

४- उखु किसानलाई करिब २२ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम नवलपरासी, रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र जिल्ला सर्लाही, हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्ने विनोद साह कलवार रहेका छन् । उखु किसानलाई लामो समयदेखि करिब २२ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका दुवै जनालाई पक्राउ गरिएको हो । उनीहरूविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

५- सरकारले अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन कार्यन्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।  त्यस्तै बैठकले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

६- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले हराएका, बेवारिसे अवस्थामा फेला परेका तथा सडकमा आश्रित बालबालिकाको खोजतलास, उद्धार र पारिवारिक पुनर्मिलनमा उल्लेखनीय प्रगति भएको जनाएको छ । मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) का अनुसार २०८२ चैत १३ देखि २०८३ असार १० गतेसम्म हराएका २ हजार ४४० बालबालिकाको विवरण दर्ता भएकोमा २ हजार ४६ जना सकुशल फेला परेका छन् । यो कुल दर्ता भएका घटनाको करिब ८४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म फेला नपरेका ३९४ बालबालिकाको खोजी नेपाल प्रहरी तथा सम्बन्धित निकायसँगको समन्वयमा जारी रहेको मन्त्रालयले जानकारी दिएको छ । यस अवधिमा बेवारिसे अवस्थामा फेला परेका १०३ बालबालिकाको उद्धार गरी संरक्षणमा राखिएको छ। तीमध्ये ६० जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ४३ जना हाल विभिन्न संस्थामा सुरक्षित संरक्षणमा रहेका छन् । त्यसैगरी सडकमा आश्रित ६६ बालबालिकाको उद्धार गरिएकोमा २१ जनालाई परिवारको जिम्मा लगाइएको छ। बाँकी ४५ जना संस्थागत संरक्षणमा रहेको मन्त्रालयले जनाएको छ। बेवारिसे अवस्थामा फेला परेका र सडकमा आश्रित गरी कुल १६९ बालबालिकाको उद्धार गरिएकोमा ८१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ। अन्य ८८ जना बालबालिका भने हाल सुरक्षित संस्थागत संरक्षणमा रहेका छन्। मन्त्रालयका अनुसार नेपाल प्रहरी, स्थानीय तह, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सरोकारवाला निकायसँगको समन्वयमा जोखिममा रहेका बालबालिकाको खोजतलास, उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलनलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । मन्त्रालयले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै बाल संरक्षण प्रणालीलाई थप सुदृढ, प्रभावकारी र उत्तरदायी बनाउने कार्यलाई निरन्तरता दिइएको जनाएको छ। साथै हराएका, जोखिममा परेका तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको खोजतलास, उद्धार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनका कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने प्रतिबद्धता पनि मन्त्रालयले व्यक्त गरेको छ ।

images

७- नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपको क्वाटरफाइनलमा जापानको सामना गर्ने भएको छ । नेपाल समूह ‘डी’ मा तिनै खेल जितेर विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो भने जापान समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले कतार, सिंगापुर र हङकङलाई पराजित गरेको थियो । नेपाल र जापानबीचको खेल बुधबार मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समयअनुसार बिहान ११: ४५ मा सुरु हुनेछ । यसैगरी,अन्य क्वार्टरफाइनलका खेलमा थाइल्यान्ड र कतार, यूएई र मलेसिया तथा इन्डोनेसिया र भुटान आमने सामने हुने छन् । क्वाटरफाइनलका सबै खेल बुधबार हुनेछन् ।

८- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।  राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मंगलबार विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन् । यी तीनै विधेयक मंगलबार प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।

images

९- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ६.११ अंकले बढेर २५७६. २९ विन्दुमा पुगेर रोकिएको छ । आज ३८३ कम्पनिका एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी कामना सेवा विकास बैंक डिभेन्चर ८७ को शेयर १०.२२  प्रतिशतले बढेको छ भने सांग्रिला विकास बैंक डिभेन्चर ८७ को शेयर ९.८२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सामुदायिक लघुवित्तको शेयर ८.१० प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी केबीएल डिभेन्चर ९० को ५२ करोड ७१ लाख बराबरको कारोबार भएको छ भने एनआइएमबी डिभेन्चर ९० को ३९ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

१०- सरकारी विज्ञापन नीजि मिडियालाई निषेधको सरकारी निर्णय सर्वोच्चले खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ को नीजि मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो । मिडिया सोसाइटिका अख्तियारप्राप्त निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले सरकारको असंवैधानिक निर्णय खारेज हुंदा सबै मियिडाप्रति न्याय भएको प्रतिक्रिया दिएका छन् । सरकारी विज्ञापन नीजि मिडियाले पाउनुपर्ने दावी सहित नेपाल मिडिया सोसाइटीका तर्फबाट अख्तियारप्राप्त अधिवक्ता लुईंटेलले दायर गरेको रिटमा असार २२ र २३ मा दुवै पक्षका तर्फबाट बहस गरेका थिए । नेपाल मिडिया सोसाइटीका तर्फबाट बरिष्ठ अधिवक्ताहरु शतिसकृष्ण खरेल, रमेश बडाल, ललितबहादुर बस्नेत, दिनेश त्रिपाठी र अधिवक्ताहरु अनन्तराज लुईंटेल, विकास भट्टराई, किर्तिनाथ शर्मा पौडेल, विशाल थापा, दुर्वाशा लुईंटेल र रामप्रसाद पुडासैनी, डा बालकृष्ण चापागाईं, डा प्रेमराज सिलवाल लगायतले बहस गरेका थिए भने महान्यायाधीवक्ता नारायणदत्त कंडेल र नायव महान्यायाधीवक्ता उद्धव प्रसाद पुडासैनीले बहस गरेका थिए । असार २२ र २३ मा सर्वाेच्च अदालतमा नेपाल  मिडिया सोसाइटिका तर्फबाट बहस गरेका कानुन व्यवसायहिरुले नीजि मिडियालाई लामो समयदेखि दिइआएको विज्ञापनको सुविधा कटौति गरेर सरकारले मिडियालाई नाकाबन्दीमार्फत सिध्याउने मकसद राखेको, विज्ञापन ऐन र नियमावलीमा समानुपातिक विज्ञापन मिडियाको अधिकार रहेको, सरकारले कुनै मिडियालाई दिने र कुनैलाई नदिने कार्टेलिङ गर्न नपाउने, विज्ञापन बोर्डको अधिकार सरकारले खोस्न नपाउने र प्रदेश सरकार र स्थानीय सरकारको समेत अधिकारमा प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गर्न नपाउने जिकिर थियो । सरकारको तर्फबाट भने विज्ञापनमा भएको सरकारी रकमको चुहावट र भ्रष्टाचार रोक्न सरकारले सो कदम चालेको तर नीजि मिडियालाई अधिकार सम्पन्न गराउने नीति सरकारले चांडै ल्याउने जिकिर गरेका थिए । चैत १८ को सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेउपर नेपाल मिडिया सोसाइटीका अख्तियारप्राप्त अधिवक्ता लुईंटेलले २४ गते रिट निवेदन दायर गरेका थिए । चैत १८ गतेको सचिवस्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सरकारी विज्ञापन तथा सूचनाहरु संचारमाध्यममार्फत प्रकाशन तथा प्रशारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय तह तथा सो अन्तर्गतका निकायहरु तथा सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरुले आफ्ना सूचनाहरु गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा सरकारी स्वामित्वमा रहेका संचार माध्यममा मात्र प्रकाशन तथा प्रशारण गर्ने निर्णय गरी सबै निकायमा परिपत्र  गरेको थियो ।

images

११- हर्मुज जलडमरूमध्यमा संयुक्त अरब इमिरेट्सका दुई तेल ट्याङ्करमाथि भएको क्षेप्यास्त्र आक्रमणपछि भारतले इरानसँग कडा असन्तुष्टि जनाएको छ ।  भारत सरकारले मंगलबार बिहान इरानका उपराजदूत मोहम्मद जवाद हुसेनीसहित इरानी कूटनीतिज्ञहरूलाई नयाँ दिल्लीस्थित परराष्ट्र मन्त्रालयमा बोलाएर घटनाबारे औपचारिक स्पष्टीकरण मागेको छ । भारतको विदेश मन्त्रालयले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको र अन्य भारतीय घाइते भएको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयका अनुसार सोमबार राति हर्मुज जलडमरूमध्यमा रहेका मोम्बासा र बहिया नामका दुई तेल ट्याङ्करमाथि दुई वटा क्रुज क्षेप्यास्त्र प्रहार गरिएको थियो । आक्रमणपछि दुवै ट्याङ्करमा भीषण आगलागी भएको थियो । घटनामा मोम्बासा ट्याङ्करमा कार्यरत एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। गम्भीर घाइतेमध्ये चार जना भारतीय र दुई जना युक्रेनी नागरिक रहेका छन् । यसैबीच, अमेरिकाले पनि मंगलबार बिहान इरानका विभिन्न सैन्य अड्डामाथि करिब पाँच घण्टासम्म हवाई आक्रमण गरेको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार बुशेहर, चाहबहार, जास्क, कोनार्क, अबु मुसा र बन्दर अब्बासस्थित सैन्य संरचनालाई निशाना बनाइएको हो । हर्मुज जलडमरूमध्यमा भएको ट्याङ्कर आक्रमण र त्यसपछि विकसित घटनाक्रमले मध्यपूर्वमा तनाव थप चुलिएको छ ।

१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेस जगतलाई तर्साउने प्रयास गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद परियारले सोमबार देशका सञ्चार माध्यमका गेटमा गाडी पार्किङ गरेर सञ्चार गृहलाई तर्साउने कुत्सित प्रयास गरिएको भन्दै विरोध गरेका छन् । परियारले सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्ने भन्दै सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नु जस्तै भएको टिप्पणी गरेका थिए । अहिले आफूहरु सत्तामा रहेको भन्दैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् भन्दै उनले रास्वपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा र पत्रकारको रक्षाको पक्षमा रहेको स्पष्ट पारेका थिए ।

१३-  सभामुख डोलप्रसाद (डिपी) अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारलाई रुलिङ गराएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने- ‘यस वर्षको मनसुन सुरु भइ बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरु बढ्न थालेका छन् । यस्ता विपद्जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवम् सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’

१४- ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनबापत उठाउने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू गलत भएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले काट्ने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको स्पष्ट पारेको छ । उक्त रकमबाट ट्राफिक प्रहरी कर्मचारीले कुनै पनि अतिरिक्त सुविधा वा भत्ता प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको प्रहरी प्रधान कार्यालयले स्पष्ट गरेको छ । तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशन वा प्रसारण गर्दा नागरिकमा भ्रम सिर्जना हुने र सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्न सक्ने भन्दै प्रहरीले सचेत गराएको छ । नेपाल प्रहरीले सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न सबैमा अनुरोध गरिएको छ ।

Nepal life insurance

१५- नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह निरंकुश शैलीमा अघि बढेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद राईले प्रधानमन्त्री शाहलाई श्री ८ भनेर सम्बोधन गर्दै निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका हुन् । उनले गणेश नेपालीको मृत्यु भएको घटनामा मिडिया र विपक्षी दलले प्रश्न गरेपछि गाडी तेर्साएर सरकारले अलोकतान्त्रिक र राज्य आतंकको सिर्जना गरेको आरोप लगाए । सांसद राईले गत भदौमा सडकमा आएर सोहि आन्दोलनको बलमा बनेको अहिलेको सरकारले त्यहि जेनजीहरुले सरकारको लाठ्ठी खाइरहेको बताउदै जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो आज त्यहि युवालाई प्रश्न गर्नबाट बञ्चित गरिएको बताए ।  साथै सांसद राईले सरकारको सत्ता उन्माद चलिरहदा विवकेशिल अभियान, जेनजी मुभमेन्ट, अभिव्यक्ति र नागरिक स्वतन्त्रताका लागि लडेर आएका सत्ता पक्षमा सांसदहरुको मुखमा टेप लागेको समेत उनको आरोप छ ।

१६-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले राज्य संकटमा रहेको भन्दै निराशाको राजनीति नगर्न सबैलाइ आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले देश संकटमा रहेकाले सबै एकजुट भएर समस्याको समाधान गर्न आग्रह गरेका हुन् । उनले भने- ‘आज हाम्रो राज्य संकटमा छ, जनतामा नैराश्यता छ, यो देशमा बाच्न सकिन्न, गर्न सकिन्न यो भाष्य निर्माण यो संसदबाट कम्तिमा नगरौं । म सम्पूर्ण राजनतिक दललाई प्राथना गर्छु की यसलाई घोचपेचको विषय नबनाऊ । राज्य रह्यो भने, जनता रह्यो भने, लोकतन्त्र रह्यो भने फेरी हामी राजनीति गरौला ।’ उनले आज चारैतर्फ व्यवसायीमा, विद्यार्थीमा निराशा रहेको बताउदै सबै मिले मात्र देश बाच्न सक्ने बताए ।

१७-  विश्वविद्यालय तथा त्यसअन्तर्गतका सम्पूर्ण क्याम्पसहरूमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्ने भएको छ । शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यले लागू गरिएको व्यवस्थाअनुसार विभिन्न विश्वविद्यालयहरूले छात्रवृत्तिसम्बन्धी सूचना प्रकाशन गर्न थालेका छन् । यस व्यवस्थाअनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयलगायतले आफ्ना आंगिक क्याम्पसहरुलाई निर्देशन दिदै छात्रवृत्ति कार्यक्रम अघि बढाएका छन् । शिक्षामन्त्री सस्मित खरेलले सरकारको यो पहलले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

१८-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १२ सयले घटेर तोलाको २ लाख ८४ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४३६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४३७५ मा कारोबार भएको थियो ।

१९- आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।  सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा मृत्यु भएको हो । विवेकले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । गम्भीर अवस्थामा रहेका विवेकलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।  सांसद डा. अमरेश कुमार सिंहले मण्डललाई बचाउन आफु, सरकार र डाक्टरहरुले कुनै कसर बाकी नराखे पनि अथक प्रयासका बाबजुद बचाउन नसकेको बताएका छन् । पहिल्ला केहि दिनमा आत्मदाहको प्रत्यास गरेर मृत्यु हुने मण्डल तेस्रो व्यक्ति हुन् । यसअघि मुगुका गणेश नेपाली र काठमाडौँ बुद्धनगरका आश्विन राउतको पनि मृत्यु भएको थियो ।

२०- अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य सोमबार करिब ११ प्रतिशतले बढ्दै प्रतिब्यारेल ८३. ३१ अमेरिकी डलर पुगेको छ । यो वृद्धि फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका-इरान द्वन्द्वयताकै सबैभन्दा तीव्र दैनिक वृद्धिमध्ये एक मानिएको छ । मंगलबार बिहान भने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८४.१५ डलर पुगेको छ । विश्लेषकहरूका अनुसार अमेरिकाले इरानमा थप हवाई आक्रमण गर्नुका साथै होर्मुज जलडमरूमध्यमा नियन्त्रण बढाउने योजना सार्वजनिक गरेपछि तेलको मूल्यमा तीव्र उछाल आएको हो । बजारको प्राविधिक सूचकले पनि मूल्य अझै माथि जाने सम्भावना देखाएको छ । अमेरिकी सेनाले गत सप्ताहन्त इरानका सयौँ लक्ष्यमा आक्रमण गरेको थियो । त्यसपछि आइतबार पनि थप दर्जनौँ स्थानमा आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । ती आक्रमणको उद्देश्य होर्मुज जलडमरूमध्यमा जहाजमाथि आक्रमण गर्ने इरानको क्षमता कमजोर बनाउनु रहेको अमेरिकी पक्षको भनाइ छ । यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको छ । साथै इरानले होर्मुज जलडमरूमध्य पुनः बन्द गरिएको घोषणा गर्दै आफूले तोकेका मार्गबाहेक अन्य बाटोबाट जहाज सञ्चालन नगर्न चेतावनी दिएको छ । यसैबीच अमेरिकाले होर्मुज जलडमरूमध्यमा प्रत्यक्ष नियन्त्रण कायम गर्ने योजना अघि बढाएको बताइएको छ । विश्वको करिब पाँचमध्ये एक हिस्सा कच्चा तेल यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले यसको प्रभाव विश्व ऊर्जा बजारमा प्रत्यक्ष पर्ने देखिएको छ । जहाज आवागमनसम्बन्धी तथ्यांकले पनि तनावका कारण आपूर्ति प्रणाली प्रभावित भएको देखाएको छ । युद्धअघि दैनिक करिब १३० जहाज ओहोरदोहोर गर्ने उक्त जलडमरूमध्यबाट आइतबार १२ घण्टाको अवधिमा केवल नौवटा जहाज मात्र आवतजावत गरेका थिए । यता विश्व शेयर बजारमा भने मिश्रित प्रभाव देखिएको छ । जापानको शेयर बजार तीन सातामा ८२ खर्ब येन बराबरको मूल्य गुमाइसकेको छ भने सोमबार निक्केई सूचक करिब दुई प्रतिशतले घट्यो । दक्षिण कोरियाको शेयर बजार पनि निरन्तर दबाबमा रहेको छ । विपरीत रूपमा तेल बजार भने बढ्दो भू–राजनीतिक जोखिमबाट सबैभन्दा बढी लाभान्वित भएको छ । बजार विश्लेषकहरूका अनुसार प्राविधिक संकेतहरूले पनि ब्रेन्ट कच्चा तेलको मूल्यमा अझै सुधारको सम्भावना देखाएका छन् । मूल्य वृद्धिको गति मापन गर्ने सूचक अहिले सकारात्मक अवस्थामा पुगेको छ, जसले बजारमा खरिदकर्ताको प्रभाव बलियो रहेको संकेत दिएको छ । विश्लेषणअनुसार यो सूचक पुनः कमजोर नबन्दासम्म तेलको मूल्य बढ्ने क्रम जारी रहने सम्भावना रहेको छ ।