अमेरिकी हवाई आक्रमणमा ३० भन्दा बढीको मृत्यु भएको इरानको दाबी

काठमाडौँ । इरानले देशको दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो हवाई आक्रमणमा ३० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ । इरानी सरकारकी प्रवक्ता फरिमा मोहाजेरानीले सामाजिक सञ्जालमार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै सरकारले दक्षिणी इरानका नागरिकसँग सधैं साथ रहने बताएकी छन् ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार रातभर भएको अमेरिकी हवाई आक्रमणमा २६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

इरानी अधिकारीहरूका अनुसार पछिल्ला दिनमा अमेरिका र इरानबीच बढेको सैन्य तनावका क्रममा यो सबैभन्दा धेरै मानिस घाइते भएको आक्रमण हो ।

अमेरिकी केन्द्रीय सैन्य कमान्डका अनुसार मंगलबार राति करिब सात घण्टासम्म सञ्चालन गरिएको सैन्य कारबाहीमा होर्मुज जलडमरूमध्य आसपास रहेका इरानका क्षेप्यास्त्र र मानवरहित विमानका अड्डा, नौसैनिक संरचना तथा तटीय सुरक्षा प्रणालीलाई निशाना बनाइएको थियो । अमेरिकाले लगातार चौथो दिन इरानमाथि हवाई आक्रमण गरेको हो ।

यता, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले जवाफी कारबाहीस्वरूप बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ। उसले बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडा र जोर्डनको अजराक हवाई अड्डालाई निशाना बनाइएको जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि अघि नआए आगामी सातादेखि विद्युत् केन्द्र र पुलजस्ता पूर्वाधारलाई समेत निशाना बनाइने चेतावनी दिएका छन् । इरानले भने अमेरिकी दबाबमा नझुक्ने र होर्मुज जलडमरूमध्यसम्बन्धी आफ्नो रणनीति यथावत् राख्ने स्पष्ट पारेको छ ।