
लन्डन, ३१ असार । पूर्व बेलायती राजनीतिज्ञ एन विडिकम्बको हत्याले देशको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।
र, यस घटनालाई अब आतंकवाद विरोधी प्रहरीको जिम्मा लगाइएको छ।

७८ वर्षीया विडिकम्ब गत साता दक्षिण पश्चिम इङ्ल्यान्डस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । बेलायती प्रहरीका अनुसार उनको शरीरमा ‘गम्भीर चोटपटक’ लागेको देखिएको थियो ।
गत शुक्रबार, डेभोन र कर्नवाल प्रहरीले ती महिलाको हत्याको आशंकामा २८ वर्षीय एक गोरा पुरुषलाई पक्राउ गरेको थियो तर सोमबार हिरासतमा रहेका ती व्यक्तिलाई आतंकवाद विरोधी प्रहरीले ‘आतंकवाद’ सम्बन्धी कार्य गरेको, त्यसको तयारी गरेको वा त्यस्तो कार्यका लागि उक्साएको आशंकामा पुनः पक्राउ गरेको छ ।


राष्ट्रिय आतंकवाद विरोधी प्रहरी कारबाहीका प्रमुख लरेन्स टेलरले बताएअनुसार यस आक्रमणको उद्देश्य पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अघि बढाइरहेको छ ।

‘यो अनुसन्धानलाई द्रुत गतिमा अघि बढाउनु नै हाम्रो प्राथमिकता हो,’ टेलरले भने।
१९८७ देखि २०१० सम्म विडेकोम्बेले मेडस्टोनको लागि कन्जरभेटिभ सांसदको रूपमा सेवा गरेकी उनले यसअघि १९९९ मा छाया गृह सचिवसहित सरकारी पदहरू सम्हालेकी थिइन्।

२०१० मा हाउस अफ कमन्स छोडे पछि विडेकोम्बे एक टिभी व्यक्तित्व बनिन्, जसले ‘बिग ब्रदर’ र बीबीसीको चर्चित कार्यक्रम ‘स्ट्रिक्टली कम डान्सिङ’ मा प्रस्तुति दिएर थप चर्चामा आएकी थिइन् ।
यद्यपि, विडेकोम्बेको राजनीतिक अडान र उनको सामाजिक रूपमा रूढिवादी विचार उनको गैर राजनीतिक करियर भरि जारी रहेको थियो । सन २०१९ सम्ममा उनी युरोपेली संघ छोड्न ब्रेक्सिट पार्टीमा सामेल भइन्। पार्टीको प्रतिनिधित्व गर्दै उनी २०१९ देखि २०२० सम्म युरोपेली संसदको सदस्य पनि थिइन् ।
तर, २०२३ मा उनी अति दक्षिणपन्थी रिफर्म युके पार्टीमा सामेल भइन् र उनको मृत्युसम्म यसको आप्रवासन र न्याय प्रवक्ताको रूपमा सेवा गरेकी थिइन ।
उनी गर्भपतन विरुद्ध र समलिङ्गी र विषमलिङ्गी सम्बन्धको लागि सहमतिको उमेर समान गर्ने विरुद्धको आफ्नो अडानका लागि परिचित थिइन्।

जुलाई ९ को स्थानिय समय अनुसार बिहान करिब ११ः ४० बजे उत्तरी इङ्गल्याण्डको हेटरस्थित आफ्नै घरमा विडिकम्ब मृत अवस्थामा फेला परेकी थिइन्।
तर, प्रहरीको अनुमान अनुसार उनको शव फेला पर्नुअघि नै अर्थात् बुधबार उनीमाथि आक्रमण भएको थियो। विडिकम्बको प्रस्तावित अन्तर्वार्ताका सम्बन्धमा ‘च्यानल ५’ का एक अनुसन्धानकर्तासँग भएको कुराकानी (टेक्स्ट म्यासेज)को जाँचपछि प्रहरी यो निष्कर्षमा पुगेको हो। ती अनुसन्धानकर्तालाई उनले पठाएको अन्तिम जवाफ बुधबार राति १२ः १९ बजे आएको थियो।

‘द सन’ पत्रिकाले प्राप्त गरेको सुरक्षा क्यामेराको फुटेजमा एक व्यक्ति, जो पछि संदिग्धका रूपमा पहिचान भए, योर्कशायरमा आफ्नो कारभित्र पस्दै गरेको देखिएको थियो र उनको खल्तीबाट लामो आकारको कुनै वस्तु बाहिर निस्किएको जस्तो देखिन्थ्यो। ती संदिग्ध व्यक्तिको सम्बन्ध विडिकम्बको घरबाट ३२० किलोमिटर भन्दा बढी टाढा रहेको साउथ योर्कशायरको रोदरह्यामस्थित एक घरसँग पनि जोडिएको पाइएको छ । यसवारेमा अनुसन्धान जारी रहेको छ ।




