त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा, पदभार ग्रहण

काठमाडौं, साउन १ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापाले आज औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।

सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ बमोजिम गठित उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उहाँलाई उपकुलपतिमा नियुक्त गरिएको हो। प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट सिफारिस हुनुभएका प्रा. डा. थापाले आज कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो।

प्रा. डा. थापा यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार तथा इन्जिनियरिङ संकायका डीनलगायत विभिन्न नेतृत्वदायी जिम्मेवारीमा रहेर कार्यसम्पादन गरिसक्नुभएको अनुभवी शिक्षाविद् हुनुहुन्छ। उहाँ हाइड्रोलिक मेसिनरी तथा ऊर्जा प्रणालीका विज्ञसमेत हुनुहुन्छ भने नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (NTNU) बाट विद्यावारिधि (PhD) प्राप्त गर्नुभएको छ।

पदभार ग्रहणपछि संक्षिप्त सम्बोधन गर्दै उपकुलपति थापाले त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा, अनुसन्धान, सुशासन तथा शैक्षिक उत्कृष्टतामार्फत अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिष्ठित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरोकारवाला सबै पक्षको राय, सुझाव र सहकार्यका साथ विश्वविद्यालयको समग्र विकासमा समर्पित भएर काम गर्ने बताउनुभयो।

पदभार ग्रहण कार्यक्रममा निवर्तमान उपकुलपति प्रा. डा. सुशील बहादुर बर्जाचार्य, निमित्त शिक्षाध्यक्ष प्रा. डा. शंकर प्रसाद खनाल, निमित्त रजिस्ट्रार प्रा. डा. महानन्द चालिसे, विभिन्न अध्ययन संस्थान तथा संकायका डीन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, निर्देशक, महाशाखा प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रा. डा. थापाको नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयमा शैक्षिक सुधार, अनुसन्धानको प्रवर्द्धन, प्रशासनिक सुशासन तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिप्रति नयाँ अपेक्षा गरिएको छ।

 

अन्य समाचारहरु