भारी वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू आंशिक तथा पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरी तथा सडक विभागको पछिल्लो विवरण अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका हुन्।

कोशी प्रदेशको ईलाम नगरपालिका वडा नं. ९ राजदुवाली (झापा देखि ताप्लेजुङ सडक खण्ड) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ अर्को वैकल्पिक बाटो उपलब्ध रहेको जनाइएको छ । यस्तै, भोजपुर नगरपालिका वडा नं. ५ बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालन मा आएको छ ।

बागमती प्रदेश अन्तर्गत वीपि राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुकी १८ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै मकवानपुरको हेटौँडा–ठिंगन–बागमती–ललितपुर खण्ड (कान्तिलोकपथ) मा पनि अर्को सूचना नभएसम्मका लागि बेलुकी १७ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

कान्तिलोकपथकै बकैया गाउँपालिका वडा नं. ११ घट्टेपाखामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ भने भीमफेदी–८ भर्याङडाँडामा सडक एकतर्फी रूपमा खुला गरिएको छ । त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. ४, जितोकिलोमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की (अन्नपूर्ण–८ सार्दीखोला) र बागलुङ (काठेखोला–६ इनारपानी) मा अविरल वर्षा र पहिरोका कारण सडकहरू एकतर्फी सुचारु रहेका छन् ।

लुम्बिनी प्रदेशतर्फ अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. २ ढुङ्ग्रेखोलामा पहिरो खस्दा सालझन्डि ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, गुल्मीको कालीगण्डकी करिडोर (राक्से र पुर्तिघाट) तथा रुद्रबेणी सडक खण्ड (सार्कुरी) मा पहिरो पन्छाएर यातायात एकतर्फी सुचारु गराइएको छ ।

सडक अवरुद्ध भएका स्थानहरूमा पहिरो पन्छाउने र सडक खुलाउने प्रयास जारी रहेकाले यात्रा गर्नुअघि स्थानीय प्रशासन वा प्रहरीसँग सम्पर्क गरी सडकको अवस्था बुझ्न प्रशासनले आग्रह गरेको छ ।